logo

२०८३ कार्तिक १० सोमबार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण


खबर सर्कल
  • सोमबार, २३ चैत्र २०८२
  • 1.3K
    SHARES

    चितवन, २३ चैतः यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको सङ्क्रमण भएको पाइएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको सङ्क्रमण देखिएको हो ।

    जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकाका १३ जनामा कुष्ठ रोग देखिएको हो । यस्तै कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा यो रोगको सङ्क्रमण देखिएको हो । यसमध्ये १० जना पुरुष र आठ जना महिला छन् । गत आर्थिक वर्षमा ४३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यसमध्ये २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका थिए ।

    क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेपे्र नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखापर्नु सुरूको चिह्न भएको उहाँले बताउनुभयो । अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौँ झरेर जानु कुष्ठरोगका चिह्न हुने र अन्त्यमा अपाङ्गता हुनसक्ने उहाँले बताउनुभयो ।

    स्नायुमा असर पर्न जाँदा हातखुट्टा लगातार झमझम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशी कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनी शङ्का गर्न सकिने उहाँले बताउनुभयो ।

    कुष्ठरोगका चिह्न र लक्षणका आधारमा बढी किटाणु भएको अर्थात् (एमबी) कुष्ठरोग, कम किटाणु भएको अर्थात् (पीबी) कुष्ठरोग हुने गरेको उहाँले जानकारी दिनुभयो । यस रोगको उपचार बढी किटाणु भएका कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका कुष्ठरोग बिरामीले छ महिना नियमित औषधि सेवन गर्नुपर्ने उहाँले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend