५ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) नजिकिँदै गर्दा नेपालले आन्तरिक तयारी तीव्र बनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्रलाई अन्तिम रूप दिनुका साथै सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको जनाएको छ।
आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने सम्मेलनमा जलवायु न्याय र जलवायु वित्तमा सहज पहुँचका लागि कूटनीतिक पहललाई बलियो बनाउने गरी छलफल भइरहेको मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. महेश्वर ढकालले बताए।
“दसैँको समयमा पनि हामी खाली नबसी नेपालको स्थितिपत्रको मस्यौदा तयार गरी सरोकारवालाको सुझाव संकलन गरिरहेका छौँ। कसरी नेपालको स्थितिपत्रलाई कसिलो बनाउन सकिन्छ भनेर लागिरहेका छौँ,” उनले भने, “हामीले अहिले आन्तरिक तयारीमा कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेका छौँ। नेपालको स्थितिपत्र अर्को साता सार्वजनिक गर्ने तयारी छ।”
ढकालका अनुसार अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच स्थापित गर्न आवश्यक तयारी र प्रक्रियाबारे सरोकारवाला निकायबाट सुझाव आइरहेका छन्।
Source:online khabar
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend