logo

२०८३ कार्तिक १० सोमबार

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवनका ७२ जनामा क्षयरोग पुष्टि


खबर सर्कल
  • शुक्रबार, २७ चैत्र २०८२
  • 936
    SHARES

    चितवन, २७ चैतः जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२ जनामा क्षयरोग पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा उक्त उपकरणको सहायताले क्षयरोगको पहिचान गरेको हो ।

    कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले साउनयता एआई एक्सरे उपकरणको सहायताले चार हजार ७१ को परीक्षण गर्दा ७२ जनामा क्षयरोग पुष्टि भएको जानकारी दिनुभयो । “परीक्षण गरिएकामध्ये दुई सय नौ जनामा क्षयरोगको लक्ष्यण देखिएको थियो । लक्ष्यण देखिएकाको थप परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण पुष्टि भएको हो”, उहाँले भन्नुभयो ।

    भरतपुर महानगरपालिकामा १६, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा १६ र इच्छाकामना गाउँपालिकामा २३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको क्षयकुष्ठ अधिकृत दुवाडीले जानकारी दिनुभयो । उक्त एक्सरे उपकरणमा एआई प्रविधिको जडान गरिनुका साथै उक्त उपकरणले बिरामीको अवस्थासहितको जानकारी दिने बताउँदै उहाँले उपकरणको सही प्रयोग गर्ने उद्देश्यले विशेषज्ञ चिकित्सकको सहायतामा क्षयरोग पहिचानसम्बन्धी शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

    क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुन्छ । “रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने र कमजोरी महसुस हुन थाल्छ । मानिसले यस्ता लक्ष्यणलाई गम्भीरतापूर्वक लिँदैनन् । विस्तारै क्षयरोगको व्याक्टेरियाले सङ्क्रमणको रूप लिई म्भीर समस्या निम्त्याउने गर्दछ”, उहाँले भन्नुभयो ।

    रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्ने क्षयकुष्ठ अधिकृत दुवाडीले सुझाव दिनुभयो ।

    यो रोग लागेमा सुर्ती मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छोड्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने क्षयकुष्ठ अधिकृत दुवाडीले बताउनुभयो । स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (छदेखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न सुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयसमयमा परीक्षण गर्नेलगायत कार्य गर्न आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend