काठमाडौँ, १६ जेठः आगामी असोज १ गतेदेखि ‘नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ को तयारी सुरु भएको छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा आगामी असोज १ गतेदेखि ४ गतेसम्म ‘नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुन लागेको हो ।
प्रदर्शनीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका महासचिव रोशन भोयधोले ‘दिगोपनाका लागि हरियाली’ भन्ने मूल नाराका साथ उक्त प्रदर्शनी आयोजना गरिने जानकारी दिनुभयो । ‘आवासको हक र व्यवस्थित सहरीकरणमा जोड’ दिने उद्देश्यसहित आयोजना हुने प्रदर्शनीको व्यवस्थापन सिआ इभेन्ट एसोसिएट्स प्रालिले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महासचिव भोयधोले संविधानले आवासको हकलाई नागरिकको मौलिक हकका रूपमा अङ्गीकार गरेको परिप्रेक्ष्यमा उक्त प्रदर्शनीले सुरक्षित, व्यवस्थित र किफायती आवास विकासमा सहयोग पुग्ने बताउनुभयो ।
घरजग्गा व्यवसायी र उपभोक्तालाई एकै ठाउँमा भेला गराई नयाँ प्रविधि, उत्पादन र बजारको वास्तविक अवस्थाबारे जानकारी गराउनु मेलाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
प्रदर्शनीमा उत्पादन तथा सेवाका एक सयभन्दा बढी स्टल रहने, भवन, संयुक्त आवास र जग्गा विकासका ठूला आयोजना, फलाम, स्टिल, सिमेन्ट, इँटालगायत निर्माण समाग्री, विद्युतीय सामान, आधुनिक फर्निचर, पाइप तथा फिटिङ्स, सेनेटरी वेयर्स, पेन्ट्स, सेरामिक, सिसा, टायल, घर सजावटका सामग्री, नवीकरणीय ऊर्जा, बैंक, बिमा कम्पनीलगायतको सहभागीता रहने जनाइएको छ ।
सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले वर्तमान समयमा घरजग्गा व्यवसायमा देखिएको शिथिलताका बीच हुन लागेको प्रदर्शनीले नेपालको ‘रियल स्टेट’ क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने बताउनुभयो । उपभोक्ताले आफ्नो बजेट र रोजाई अनुसारको घर वा जग्गाको उचित मूल्यमा छनोट गर्न सक्ने उहाँले बताउनुभयो ।
यस्तै, इन्जिनियर, ‘आर्किटेक्चर’ र सहरी योजनाकारबीचको समन्वयले नेपालमा आधुनिक र वातावरणमैत्री सहरीकरणको जग बसाल्न मद्दत पुग्ने इन्जिनियर कुँवरको भनाइ छ । मेलामा सम्बन्धित क्षेत्रका विज्ञबाट उपभोक्तालाई प्रत्यक्ष परामर्श सेवासमेत प्रदान गरिने जनाइएको छ ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend