logo

२०८३ कार्तिक १० सोमबार

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो


खबर सर्कल
  • शनिबार, १६ जेष्ठ २०८३
  • 871
    SHARES

    काठमाडौँ, १६ जेठ : पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी वर्षा भइरहेको छ । देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१.२ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा नजिक हो ।

    अन्य केही जिल्लामा मकवानपुरको भोर्लेनी, गढी र रजैयामा पनि भारी वर्षा (५० मिमिभन्दा माथि) भएको छ । यस्तै बाँकेमा पनि ४८ मिलिमिटर (भारी नजिक) पानी परेको छ ।

    पछिल्लो एक घण्टामा कञ्चनपुर, डोटी, नवलपरासी सुस्तापश्चिम र रूपन्देहीमा पनि वर्षा भएको छ । मौसमविद् सरोज पुडासैनीले तराईमा मङ्गलबारसम्मै बदली रहने हुनाले गर्मी घट्ने जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा भारीसम्मै वर्षा हुने पनि जानकारी दिनुभएको छ ।

    यो समय प्रि–मनसुन भएकाले हावाहुरी चट्याङ पनि हुने भएकाले सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ । विभागमा प्राप्त अभिलेखअनुसार आज नेपालमा तापक्रम ३६ डिग्रीभन्दा तलै रहेको छ । विभागका अनुसार आज सबैभन्दा बढी धनगढीमा ३५.८ डिग्री तापक्रम रेकर्ड भएको छ ।

    चन्द्रगढी विमानस्थलमा ३४.४, जनकपुरमा ३३, धरानमा ३३.७, विराटनगरमा ३३.२, भैरहवामा ३४ र नेपालगञ्जमा ३३.९ डिग्री तापक्रम पुगेको छ । काठमाडौँमा अधिकतम तापक्रम २५.३ डिग्री रहेको छ । यसअघि यो वर्ष काठमाडौँमा ३० डिग्री पुगेको थियो भने नेपालगञ्जलगायत केही जिल्लामा ४१ डिग्रीमाथि तापक्रम पुगेको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend