logo

२०८३ कार्तिक १० सोमबार

बालबालिकाका लागि सुरक्षित समाज निर्माणमा सहकार्य आवश्यक

बालबालिकाका लागि सुरक्षित समाज निर्माणमा सहकार्य आवश्यक


खबर सर्कल
  • आइतबार, १७ जेष्ठ २०८३
  • 819
    SHARES

    गण्डकी, १७ जेठः बालबालिकाका लागि सुरक्षित समाज निर्माणमा सम्बद्ध सबैको सहकार्य र समन्वय आवश्यक रहेकामा जोड दिइएको छ । भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा आज पोखरामा आयोजित ‘बालअधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौनदुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा बालबालिकाका लागि सुरक्षित समाज निर्माणमा सरोकार भएका सबैको साथ र सहयोगको आवश्यकता औँल्याइएको हो ।

    बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सहकार्यमा भएको कार्यक्रममा वक्ताहरूले प्रविधिले बनाएको सहजतासँगै त्यस्तै किसिमका चुनौतीहरू थपेको बताउँदै बालबालिकाका लागि सुरक्षित समाज निर्माणमा सचेतना आवश्यक भएको बताउनुभयो ।

    भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले विश्वमा इन्टरनेटको तीव्र विकाससँगै नेपालमा अनलाइनको माध्यमबाट बालबालिका बढी मात्रामा यौनदुर्व्यवहार, शोषण र हिंसामा परेका घटना सार्वजनिक भइरहेका बताउनुभयो ।

    “संयुक्त राष्ट्रसङ्घीय बालअधिकार समितिको डिजिटल वातावारणको सम्बन्धमा बालबालिकाको अधिकारसम्बन्धी सामान्य टिप्पणी नं २५ अनुसार डिजिटल वातावारणमा प्रत्येक बालबालिकाको अधिकारको सम्मान र संरक्षण हुनुपर्छ भनिएको छ, “उहाँले भन्नुभयो, “प्रत्येक देशले उचित नीति नियम बनाएर बालबालिकालाई डिजिटल वातावारण सुरक्षित भएको सुनिश्चित गर्नुपर्दछ भनिएको छ, तर डिजिटल प्रविधिको विकाससँगै अनलाइनबाट बालयौन दुर्व्यवहार, शोषण र हिंसाका घटनाहरू अझ धेरै बढेका छन् ।”

    यस विषयमा नेपालमा विभिन्न रुपमा तथ्याङ्क सङ्कलन र अध्ययन तथा अनुसन्धानहरू भएका उपनिर्देशक घिमिरेले जानकारी दिनुभयो । इन्टरनेटको सुरक्षित प्रयोगको लागि राज्यको नीति नियम निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले सञ्चारकर्मीलगायत सरोकार भएका निकायले आआफ्नो तर्फबाट सहकार्य गरी बालबालिकाको लागि सुरक्षित समाज निर्माणमा सहकार्य गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

    बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका केन्द्रीय सदस्य केशव पौडेलले बालअधिकार प्रवर्द्धनको विषयले प्राथमिकता पाउनुपर्ने बताउनभयो । वरिष्ठ पत्रकार गङ्गाधर पराजुलीले बालअधिकार प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव जमूना वर्षा शर्मा, पत्रकार कमल पौडेल (अथक), सन्देश श्रेष्ठ लगायतले बालअधिकारको प्रवर्द्धनका लागि सरोकारवाला निकायबीच सहकार्य हुनु जरुरी भएको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend