काठमाडौँ, २२ जेठ : सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा आनन्दमोहन भट्टराईले विकासका नाममा जथाभावी गर्ने छुट नभएको बताउनुभएको छ ।
नेपाल बार एशोसिएशनको पर्या–पर्यटन कानुन सरोकार समितिले आज यहाँ आयोजना गरेको ‘जलवायु परिर्वतनले पर्यटन क्षेत्रमा पारेको असर’ विषयक कार्यक्रममा डा भट्टराईले नेपालमा पर्या–पर्यटनको राम्रो सम्भावना भएको उल्लेख गर्दै विकासका नाममा पर्या–पर्यटनलाई असर गर्ने काम गर्न नहुनेमा जोड दिनुभयो । “नेपालको संविधानको पर्यावरणीय दिगो विकास भनेको छ, त्यो पूर्वसावधानीतर्फ काम गर्न हो, विकासको नाममा जथाभावी गर्ने छुट संविधानले दिएको छैन, संरक्षण गर्दै पर्या–पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
सरकारले पर्यटन ऐन बनाउँदा पर्या–पर्यटनलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले घरबास, पदयात्रा, प्राकृतिक स्रोतको संरक्षण गर्दै पर्यटकको सुरक्षामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । अधिवक्ता घनेन्द्र श्रेष्ठले वातावरण संरक्षणमा नेपालले बेवास्ता नगरेको उल्लेख गर्दै होटलहरुले प्लास्टिकजन्य वस्तुको प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।
पर्या–पर्यटनका जानकार श्रवणकुमार शर्माले विकास गर्दा पर्यावरणलाई असर नगर्ने ढङ्गले काम गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल बार एशोसिएशनको पर्या–पर्यटन कानुन सरोकार समिति संयोजक अधिवक्ता भीष्म कडरियाले पर्या–पर्यटनको संरक्षण, सम्वद्ध गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend