राजविराज (सप्तरी), २३ जेठ : नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल पूर्व–पश्चिम कञ्चनपुर–कमला राजमार्गको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित कञ्चनपुर बेरियर क्षेत्रमा पुगेर उहाँले सडक निर्माणको प्रगति, गुणस्तर तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
सिरहा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले चाइनिज रेलवे कम्पनीद्वारा निर्माणाधीन कञ्चनपुर–कमला राजमार्गको निरीक्षण गर्नुभयो । मन्त्री लम्साल तथा प्रतिनिधिसभा सदस्य गुप्ताले निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै निर्धारित समय सीमाभित्र गुणस्तरीय ढङ्गले आयोजना सम्पन्न गर्न आवश्यक निर्देशनसमेत दिनुभयो ।
मन्त्री लम्सालले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै निर्माण कार्यमा कुनै ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराउनुभयो । उहाँले सडकको गुणस्तरमा विशेष ध्यान दिँदै जनताले छिट्टै सुरक्षित र सहज यातायात सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन आग्रह गर्नुभएको भयो ।
सांसद बब्लु गुप्ताले निर्माण कार्यलाई थप तीव्रता दिनुपर्नेमा जोड दिँदै स्थानीयवासीको अपेक्षाअनुसार समयमै सडक सञ्चालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्न आग्रहसमेत गर्नुभयो ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend