काठमाडौँ । प्रेस काउन्सिल नेपालले धार्मिक तथा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने र अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडिया एवं सामाजिक सञ्जालहरूमाथि कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
सुनसरीलगायतका पूर्वी जिल्लाहरूमा हालै घटेका संवेदनशील घटनालाई लिएर गलत तथा उत्तेजक सामग्री फैलाएको पाइएपछि काउन्सिलले यस्तो कदम चालेको हो ।
काउन्सिलका अनुसार नियमित अनुगमनका क्रममा सञ्चार माध्यम र सामाजिक सञ्जालबाट हिंसा, आतङ्क र अपराधलाई प्रश्रय पुग्ने तथा उत्तेजना फैलाउने किसिमका भ्रमपूर्ण अभिव्यक्तिहरू सम्प्रेषण भइरहेको भेटिएको थियो ।
आचारसंहिता प्रतिकूल सामग्री प्रसारण गर्ने १४ वटा मिडियालाई त्यस्ता सामग्री अविलम्ब हटाउन काउन्सिलले टेलिफोनमार्फत निर्देशन दिएको थियो, जसमध्ये ७ वटाले त्यस्ता सामग्री हटाइसकेका काउन्सिलले जनाएको छ । मौखिक निर्देशन पालना नगर्ने एउटा मिडियालाई भने २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ ।
त्यसैगरी, कुनै मिडियाअन्तर्गत आबद्ध नभई सञ्चालनमा रहेका ५ वटा फेसबुक पेज र १ वटा युट्युब च्यानल गरी ६ वटा सामाजिक सञ्जालमा सम्प्रेषित ८ वटा गम्भीर प्रकृतिका सामग्रीबारे अनुसन्धान गरी कारबाही चलाउन नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल्य मान्यताविपरीत पेसागत जिम्मेवारीबाट विमुख भई परिस्थितिलाई थप भड्काउने किसिमका सामग्री सम्प्रेषण नगर्न आग्रह गरिएको छ ।
काउन्सिलले सम्पूर्ण आमसञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न र जिम्मेवार बन्न हार्दिक अपिलसमेत गरेको छ ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend