logo

२०८३ कार्तिक १० सोमबार

‘यो सरकारले आफूलाई करेक्सन गरेन भने देश ठुलो दुर्घटनामा जान सक्छ’

‘यो सरकारले आफूलाई करेक्सन गरेन भने देश ठुलो दुर्घटनामा जान सक्छ’


खबर सर्कल
  • बिहिबार, १४ साउन २०८३
  • 676
    SHARES

    काठमाडौँ । नागरिक शक्ति नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी पछिल्लो समय वर्तमान राजनीतिक प्रणाली, भूराजनीति र सरकारका कामकारबाहीप्रति निकै खरो आलोचकका रूपमा चिनिन्छन् । वर्तमान सरकारलाई उनी निर्वाचितभन्दा पनि ल्याइएको सरकारको संज्ञा दिन्छन् । २०६३ सालको राजनीतिक परिवर्तनले नेपाली राष्ट्रियता, धर्म, संस्कृति, भाषा र अखण्डतालाई कमजोर बनाएको उनको दाबी छ ।

    देशलाई अस्थिर र गरिब बनाइराख्ने भूराजनीतिक खेल भइरहेको र त्यसमा अहिलेको नेतृत्व फसेको उनको दाबी छ । देशको भूराजनीतिक अवस्था, वर्तमान सरकारको कार्यशैली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बहस र नेपाली राष्ट्रियताको सवालमा केन्द्रित रहेर त्रिपाठीसँग रातोपाटीको ‘वारपार’का लागि रोहित दाहालले गरेको संवादको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

    तपाईं नागरिक शक्ति नेपाल भन्ने पार्टीको अध्यक्ष हुनुहुन्छ । तर निर्वाचनमा यो पार्टीले भाग लिँदैन, अस्वीकारै गर्छ । यो पार्टी खोलेको चाहिँ किन हो ?

    नागरिक शक्ति नेपालको स्थापना हामीले किन गर्नुपर्‍यो भने यसको अलिकता फरक पृष्ठभूमि छ । हामीले २०६३ सालको परिवर्तनपछि केही प्रावधान नेपाली राष्ट्रियताको प्रतिकूल पायौं । ती कुरालाई हामीले संविधानमा परिवर्तन गर्नैपर्छ भन्ने ठान्यौं । खासगरी हाम्रो धर्म संस्कृतिलाई कमजोर बनाउँदै लैजाने, हाम्रो सार्वभौमसत्तालाई कमजोर बनाउने, जातीय र क्षेत्रीय दृष्टिकोणहरूलाई हाबी गराउने र नेपालीत्वलाई कमजोर गर्ने काम भयो । यी सबै कुरा त्यहाँ अन्तर्निहित देखिसकेपछि हामीले नेपाली राष्ट्रियताको पक्षमा एउटा अभियान चलाउनुपर्छ भन्ने सोच्यौं ।

    २०१७ सालमा राजा महेन्द्रको नेतृत्वमा भएको परिवर्तनलाई हामीले प्रजातन्त्र विरुद्धको कदम भनेर इतिहासमा लेख्यौं र बुझ्यौं । तर २०६३ सालको परिवर्तन चाहिँ नेपाली राष्ट्रियता विरुद्ध थियो भन्न हामीले सकेनौं । यथार्थ त्यही नै हो । २०६३ सालको परिवर्तन प्रजातन्त्रको पक्षमा कति छ, त्यो बेग्लै एउटा विवेचनाको विषय हो, तर यो राष्ट्रियता विरुद्धको चाहिँ परिवर्तन हो ।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend