विराटनगर। कोशी प्रदेशको सरकार गठनबारे एमाले र नेकपाका दुई नेता शेरधन राई र इन्द्रबहादुर आङ्बोबिच छलफल भएको छ।
केन्द्रमा भएको सहमतिअनुसार नयाँ गठबन्धन निर्माणबारे एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज राई र नेकपा कोशी प्रदेश संसदीय दलका नेता आङ्बोबिच आइतबार विराटनगरमा छलफल भएको हो ।
छलफलका क्रममा एमाले इन्चार्ज राईले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर नयाँ व्यक्तिलाई मुख्यमन्त्री बनाउने विषयमा पनि छलफल गरेका थिए । आङ्बोले भने एमालेभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने बारेमा ठोस निर्णय गरिसकेपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताएका थिए।
एमाले र नेकपाबिच कोशी प्रदेशको मुख्यमन्त्री एमालेकै रहने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको बताइएको छ। सोही योजनाअनुसार एमाले सचिव राईले कार्कीलाई राजीनामा दिन आग्रह गरिसकेका छन्। तर कार्कीले पार्टी सचिवालयको निर्णयबाहेक आफूले राजीनामा नदिने अडान लिएका छन्।
यही अडानकाबिच राई र आङ्बोबिच छलफल भएको हो। छलफलमा राईले मुख्यमन्त्री परिवर्तनको संवैधानिक तथा कानुनी प्रक्रियाबारे पनि धारणा राखेका थिए। उनका अनुसार मुख्यमन्त्री परिवर्तन गर्ने निर्णय पार्टीको हो र मुख्यमन्त्रीका रूपमा कसलाई अघि सार्ने भन्ने विषय सचिवालयले निर्णय गर्ने अभ्यास छैन।
राईले भने, ‘विगतमा पनि मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय अध्यक्षले नै गर्नुभएको हो। अहिले पनि अध्यक्षले परिवर्तन गर्ने निर्णय गर्नुभएको छ। सचिवालयको निर्णय आवश्यक छैन। आवश्यक परे प्रदेश कमिटीले निर्णय गर्न सक्छ।’
आङ्बोले भने एमालेभित्रको विवाद पार्टीमै समाधान गर्न सुझाव दिएका थिए। ‘मुख्यमन्त्री को हुने भन्ने विषय पार्टीभित्रै टुङ्ग्याउनु राम्रो हुन्छ। त्यसलाई संसद्मा लैजानु उचित हुँदैन,’ उनले भने।
मुख्यमन्त्री कार्कीविरुद्ध एमालेकै तर्फबाट अविश्वासको प्रस्ताव आउन सक्ने चर्चा भइरहेका बेला आङ्बोले विवादलाई संसद्मा प्रवेश गराउनु उपयुक्त नहुने धारणा राखेका हुन्।
उता, कोशीमा एमालेभित्रको विवादकै कारण नेपाली कांग्रेसले पनि आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको छैन। एमालेले औपचारिक जानकारी नगराएको र केन्द्रबाट स्पष्ट निर्देशन नआएको भन्दै कांग्रेसका मन्त्रीहरू सरकारमै रहेका छन्।
कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री बनेकाले उनले स्वयं राजीनामा नदिएसम्म वा उनीविरुद्ध ४७ जना प्रदेशसभा सदस्यको समर्थनमा अविश्वास प्रस्ताव दर्ता नभएसम्म उनलाई पदबाट हटाउन सहज छैन। त्यसैले कोशीमा नयाँ गठबन्धन गठन र मुख्यमन्त्री परिवर्तन तत्काल हुने सम्भावना कम देखिएको छ।
यता कांग्रेसले पनि मुख्यमन्त्री कार्कीलाई केदार कार्कीको शैलीमा आवश्यक समर्थन जुटाउन सके सहयोग गर्न सकिने सङ्केत दिएको स्रोतको दाबी छ। प्रदेशसभामा कांग्रेसका २९ सांसद छन्। यदि कार्कीले एमालेका ४० सांसदमध्ये कम्तीमा १८ जनाको समर्थन कायम राख्न सके उनी मुख्यमन्त्री पदमा कायम रहन सक्ने राजनीतिक विश्लेषण गरिएको छ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend