काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पाेखरेलले दंगाली कम्युनिस्ट आन्दोलनका नेता स्वर्गीय शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताएका छन्। नेकपा एमाले दाङले मंगलबार बस्नेतको नवौँ दिनको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
पाेखरेलले एमालेका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका बस्नेतको कम्युनिस्ट आन्दोलनदेखि पार्टीप्रतिको भूमिकाकाबारे चर्चा गर्दै योगदानलाई भुल्न नसकिने बताए।
उनले स्वर्गीय बस्नेतले पन्चायतकालदेखि लोकतन्त्र सम्मको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। आफूलाई कम्युनिस्ट नेताको रूपमा स्थापित गराउँदै सधैँ उनले इमान र निष्ठाको राजनीतिबाटै जनताको मन जितेको उनले बताए।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेकाले पाेखरेलले नेताका रूपमा स्थापित र सफल हुनलाई जनताको मनोविज्ञानलाई बुझ्न सक्नु पर्ने बताए। पछिल्लो राजनीतिक घटनाक्रम यसैको उदाहरण भएको उनले बताए। पुराना दलले जनताको मनोभावना र मनोविज्ञानलाई नबुझ्दा चुनावको परिणाम सोचे भन्दा ठिक उल्टो भएको उनको भनाइ छ।
उनले शोभाराम बस्नेत जस्ता नेताहरूबाट पाठ सिकेर नेताहरूले आफूलाई परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने जोड दिएका छन्।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend