विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलको बैठकमा १७ जना सांसदमध्ये १५ जना सांसदले नै आफू मन्त्री बन्नुपर्ने धारणा राखेका छन् । झण्डै ३ घण्टासम्म मोरङ कटहरीस्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकमा आफ्नो दाबी गर्दै उनीहरूले मन्त्रीमा दाबी गरेका छन् ।
दलका नेता इन्द्रबहादुर आङ्बोले करिब तीन घण्टा चलेको बैठकमा प्रदेश सभा सदस्यहरूले सरकारमा सहभागी हुने मन्त्रीहरूको छनोट गर्दा समावेशी र भौगोलिक सन्तुलन मिलाउन सुझाव दिएको बताए ।
आङ्बोले बैठकमा सांसदहरूले मन्त्रीमा आफ्नो दाबी गरे पनि सरकारमा गएर समान हिसाबले साधन स्रोतको वितरण गर्नुपर्ने धारणा राखेका छन् ।
‘जो मन्त्री हुन्छ, उसको मात्रै हालीमुहाली नहोस् । जसको हातमा लट्ठी उसैको भैंसी भने जस्तो नभई सरकारमा सिंगो पार्टी र दलले स्वामित्व लिन सक्ने वातावरण बनोस् भन्ने साथीहरूको सुझाव छ,’ आङ्बोले भने । सांसदहरूले पार्टीको स्थापित समावेशी सिद्धान्त, भौगोलिक र जनसंख्याको सन्तुलनलाई ध्यान दिएर मन्त्री पठाउनुपर्ने माग गरेका छन् ।
कोशी प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री नपाएकोमा दलका सदस्यहरूले असन्तुष्टि पोखेको नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राईले बताए । ‘मुख्यमन्त्री हामीले नपाउनु हामीमाथि अन्याय भएको भनेर कतिपय माननीयज्यूहरूले स्तब्धता र कतिपयले आक्रोश समेत व्यक्त गर्नुभएको छ,’ इन्चार्ज राईले भने । यद्यपि, पार्टीले गर्ने उपयुक्त निर्णयलाई सबैले पालना गर्ने प्रतिबद्धता समेत जनाएको उनले बताए ।
मन्त्री र मन्त्रालयको अन्तिम टुंगो सोमबार दिउँसोसम्म लाग्ने आङ्बोले जानकारी दिए । ‘अब पर्सि (सोमबार) सम्म समय छ । हाम्रो पार्टी प्रदेश कार्यालय टोली र संसदीय दल बसेर मन्त्री पठाउने पाटोमा उपयुक्त निर्णय गर्नेछ । नेकपा एमालेसँग मन्त्रालय बाँडफाँडको विषय पनि सोमबार नै टुंगिनेछ,’ उनले भने । उनले सबै सांसदहरूले मन्त्री बन्न पाउनु पर्छ भन्ने धारणा राखेको बताए । ‘सबैले मन्त्री बन्ने अवसर पाउनुपर्छ भन्ने आशयले कुरा राख्नु भयो । यद्यपि उहाँहरूले पार्टीले सन्तुलन मिलाएर पठाएको खण्डमा आफूहरू मान्ने पनि भन्नुभएको छ,’ आङ्बोले भने ।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच साउन ९ गते भएको तीन बुँदे सहमति अनुसार कोशी प्रदेशमा सरकार विस्तार सोमबार गर्ने मुख्यमन्त्री कार्यालयको तयारी छ । दुई पार्टीबीच मुख्यमन्त्री बाहेक ४–४ मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालयको विषयमा भने सहमति भइसकेको छैन ।
यसैबीच ४ मन्त्रालय पाउने भएपछि नेकपामा यसअघि मन्त्री बनिसकेकालाई पठाउने कि नयाँलाई पठाउने भन्ने विषयमा संसदीय दलमा तीब्र ध्रुवीकरण देखिएको छ । मन्त्री बन्न नपाएका केही सांसदले दलको बैठकमा आफूहरू हस्ताक्षर क्याम्पेन गर्ने चेतावनी समेत दिएका थिए । मन्त्री बनिसकेकाहरूले भने मन्त्री बनेकाको बहुमत भएकोले अल्पमतले हस्ताक्षर गरेर केही नहुने जवाफ फर्काएका थिए ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेकपामा १७ सांसद छन् । त्यसमध्ये पूर्व माओवादीबाट १३ र समाजवादीका ४ सांसद छन् । पूर्व समाजवादी समूहका ४ सांसदमध्ये आफू मात्रै मन्त्री बन्न नपाएको भन्दै विद्या चाम्लिङले लविङ गरिरहेकी छिन् । पूर्व समाजवादीका सांसदमध्ये राजेन्द्र राई पूर्व मुख्यमन्त्री हुन् । यस्तै पाँचथरबाट निर्वाचित कमलप्रसाद जबेगू यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । यस्तै इलामबाट निर्वाचित खिनु लङ्वा लिम्बू प्रदेशसभाको अघिल्लो कार्यकालमा पर्यटन मन्त्री बनेकी थिइन् ।
उता, पूर्व माओवादी खेमाबाट मन्त्री बनेका दलका नेतासमेत रहेका इन्द्रबहादुर आङ्बोले मन्त्री दाबी नगरेको बताइएको छ । आङ्बो बाहेक पूर्वमन्त्री समेत रहेका जीवन आचार्य, गणेश उप्रेती, दुर्गा चापागाईं, राजेन्द्र कार्की, बाबुराम गौतम, नारायण बुर्जा मगर तथा राज्यमन्त्री बन्दना झाँगडले पनि पुनः मन्त्री बन्नुपर्ने बताएका छन् ।
प्रत्यक्षमा निर्वाचितमध्ये गोम्बु शेर्पा र राजेन्द्र किराँती मन्त्री बनेका छैनन् भने समानुपातिकतर्फबाट निर्वाचित विद्या चाम्लिङ, गीता तिम्सिना, सम्झना तामाङ र सपना दर्जी मन्त्री बन्ने अवसर पाएका छैनन् । मन्त्रीको फुली लगाएकाहरूले भने चाम्लिङ प्रमुख सचेतक रहेर राज्यमन्त्री सहरकै सुविधा लिइरहेको, यसअघि प्रमुख सचेतक भएर तिम्सनाले पनि उक्त सुविधा उपभोग गरेको, लेखा समितिको सभापति रहेका किराँतीले पनि सोही हिसावले सुविधा पाएको बताउने गरेका छन् । दुवै पक्षले गोम्बु शेर्पा, सम्झना तामाङ र सपना दर्जीले भने अवसर नपाएकोमा सहमत छन् । यसअघि मन्त्री बन्नेहरूले आफू बाहल रहँदा एउटा बजेट ल्याउने अवसर नपाएको, छोटो अवधि मन्त्री बनेको, मन्त्रीको फूली मात्रै लाएको र काम देखाउने अवसर नपाएको बताउने गरेका छन् ।
नेकपाले प्रदेशको मन्त्री छनौट गर्ने जिम्मेवारी प्रदेशकै पार्टी नेताहरूलाई दिएको छ । कोशी प्रदेश सरकार र मन्त्री चयनबारे शीर्ष नेताहरूसँग छलफल गर्न पुगेको नेतालाई सो पार्टीले सन्तुलन मिलाएर प्रदेशमै निर्णय गर्न आग्रह गरेको हो । नेकपा कोशी प्रदेशका इन्चार्ज राजेन्द्रकुमार राई र संयोजक हर्कबहादुर नेम्वाङ (मिक्सो)सहितको टोली नेताहरूसँगको परामर्शका लागि मंगलबार काठमाडौं गएको थियो । उक्त टोलीले पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend