हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको छ । तर, सत्ताको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेभित्र चुलिएको आन्तरिक विवादले नयाँ सरकार गठन गर्न वाम गठबन्धनलाई सकस देखिएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकिएको छ ।
उक्त अवस्थामा नेकपा एमाले र नेकपाबिच भएको केन्द्रीय सहमतिअनुसार बागमतीमा एमालेले नेतृत्व गर्ने निश्चित छ । तर, एमालेको संसदीय दलभित्रको विवाद सहजै निरूपण हुने अवस्था देखिँदैन । गत बुधबार संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध १६ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘ग्रिन सिग्नल’ मा पूर्वमन्त्री किरण थापा मगरले संसदीय दलका नेता थपलियाविरुद्ध १६ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । पूर्वस्वास्थ्यमन्त्री किरण थापा मगरलाई नयाँ दलको नेता बनाउने प्रस्तावसहित दर्ता भएको उक्त अविश्वासको प्रस्तावमाथि मंगलबार छलफल हुने कार्यसूची रहेको छ ।
आन्तरिक विवाद व्यवस्थापन र दलको नेताको विषय टुंग्याउन एमालेले भोलि भदौ २ गते मंगलबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठकमा मुख्य रूपमा दलका नेता थपलियाविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । एमालेका शीर्ष नेताहरूले दलको नेता सहजै परिवर्तन गरी नयाँ सरकार गठनको पहल थाल्न खोजे पनि वर्तमान नेता थपलिया भने अविश्वासको प्रस्तावको सामना गरेर मत विभाजनमा जाने तयारीमा छन् ।
उक्त विवाद निरूपणका लागि एमाले सचिव महेश बस्नेत, प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल लगायत बैठकमा सहभागी हुनेछन् ।
एमालेका एक सांसदका अनुसार संसदीय दलको नेता चयन प्रक्रियामा पार्टीको शीर्ष नेतृत्वको भूमिका निर्णायक हुनेछ । मंगलबार बस्ने संसदीय दलको बैठकले सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व टुंग्याउने उनले बताए । पार्टीको शीर्ष तहबाट किरण थापाको पक्षमा समर्थन देखिएको उनले जानकारी दिए । यद्यपि, बिचका कतिपय नेताहरूले भने अहिलेकै नेता जगन्नाथ थपलिया (जेएन) लाई नै कायम राख्नुपर्ने धारणा राखेको उनले बताए ।
‘हामीले भोलि दिनभरिमा सर्वसम्मतिमै नेतृत्वको टुंगो लगाउने प्रयत्न गरिरहेका छौँ । अहिले पनि दलको नेताबारे अनौपचारिक छलफलहरू भइरहेका छन्,’ उनले भने, ‘शीर्ष तहबाट किरण थापाको पक्षमा माहोल छ । उनले राप्रपालाई मिलाउन सक्ने बुझाइ नेतृत्वको छ । यदि दुई पक्षबिच कुरा नमिलेको खण्डमा बिचको पात्रका विषयमा पनि छलफल भइरहेको छ । दलको नेता चयन प्रक्रियामा शीर्ष तहको हस्तक्षेप निश्चित नै देखिन्छ ।’
उनका अनुसार मंगलबारको संसदीय दलको बैठकको अध्यक्षता हालका संसदीय दलका नेता थपलियाले नै गर्नेछन् । अविश्वासको प्रस्ताव दर्ता भए पनि उहाँकै अध्यक्षतामा बैठक बस्ने र सचेतकले बैठक सञ्चालन गर्ने उनको भनाइ छ । सोपश्चात्को प्रक्रिया अनुसार निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण हुने र सहमति हुन नसकेको खण्डमा मात्रै मतविभाजन ९निर्वाचन० सम्म कुरा पुग्ने उनले बताए ।
पार्टीको निर्णय र टिमको भावनालाई स्वीकार गर्छु : सांसद थापा
नेकपा एमाले बागमती प्रदेशका सांसद किरण थापा मगरले संसदीय दलको नेतृत्व र अविश्वासको प्रस्तावका सन्दर्भमा पार्टीले गर्ने निर्णय नै आफूले स्वीकार गर्ने बताए । मंगलबार बस्ने संसदीय दलको बैठकले नयाँ नेता चयन गर्ने र आफू व्यक्तिगत पद र प्रतिष्ठाभन्दा पनि ‘टिम’ को निर्णयमा अडिग रहने उनले स्पष्ट पारे ।
कम्युनिस्ट पार्टीमा अनुशासनको ठुलो महत्त्व रहने भएकाले पार्टीले गरेको निर्णय शिरोधार्य गर्न तयार रहेको उनले बताए । मंगलबारको बैठकमा बागमती प्रदेशका इन्चार्ज एवम् अध्यक्षहरू पनि सहभागी हुने र नेतृत्व तहको ‘म्यान्डेट’ तथा छलफलको निष्कर्ष नै अन्तिम हुने उनको भनाइ छ । संसदीय दलको नेता चयन प्रक्रिया सकेसम्म सहमतिकै आधारमा टुंग्याउन प्रयास गरिने उनले बताए ।
‘संसदीय दलको नेताको विषय मेरो व्यक्तिगत कुरा होइन, टिम र माननीयज्यूहरूको कुरा हो,’ थापाले भने, ‘अधिकांश माननीयज्यूहरू पक्षमा हुनुहुन्छ । टिमले जे निर्णय गर्छ, म त्यसैलाई स्वीकारेर जान्छु । नेतृत्व तह र माननीयज्यूहरूले ब्याक हुनुपर्छ भन्नुभयो भने म तयार छु । पार्टी संस्थागत हुन्छ, व्यक्ति होइन । एक कदम पछि हट्दा दुई कदम अगाडि बढ्न सकिन्छ भने त्यो पनि एउटा प्रक्रिया हो ।’
संसदीय दलको नेता परिवर्तन हुँदैन : थपलिया
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले भने संसदीय दलको नेतृत्व परिवर्तन नहुने दाबी गरे । मंगलबार बस्ने संसदीय दलको बैठकले पार्टीभित्रका असन्तुष्टिलाई छलफलकै माध्यमबाट टुंग्याउने उनले बताए । ‘भोलिको बैठकमा छलफल हुन्छ । साथीहरूले आफ्ना चित्त नबुझेका कुराहरू राख्नुहुनेछ र मैले पनि आफ्ना कुरा राख्नेछु,’ उनले भने, ‘यो एमालेको आन्तरिक कुरा हो । त्यस्तो कुनै समस्या हुँदैन र दलको नेता परिवर्तन हुने खालको स्थिति छैन ।’
सरकार गठनको दाबी पेस गर्ने विषयमा अन्य राजनीतिक दलहरूसँगको संवादलाई तीव्रता दिएको उनको भनाइ छ । एमालेको मात्र एकल बहुमत नभएका कारण अन्य दलहरूलाई पनि सहमतिमा ल्याउनुपर्ने भएकाले दाबी पेस गर्न केही समय लागेको उनले बताए । उनका अनुसार सरकार गठनका लागि एमालेको तर्फबाट उनी र उनका प्रतिनिधिमार्फत वार्ता भइरहेको छ ।
‘सरकार गठनका लागि मैले वार्ता गरिरहेको छु । पार्टीको टिम पनि यसमा लागेको छ । साथीहरू परिचालित हुनुहुन्छ र मेरो पनि निरन्तर संवाद भइरहेको छ । यदि एमालेको मात्र सिट भइदिएको भए त आजै दाबी पेस गर्न गइसकिन्थ्यो । तर अन्य दलहरूलाई पनि साथमा लिएर हिँड्नुपर्ने भएकाले कुराकानी भइरहेको छ,’ उनले थपे ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend