मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पदभार ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्री थापाले पदभार ग्रहण गरेसँगै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री थापाले नेपाल सरकारले हालै जारी गरेको ‘राष्ट्रिय सदाचार नीति २०८३’ लाई प्रदेश स्तरमा आन्तरिकीकरण र कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
उक्त नीतिको प्रभावकारी कार्यान्वयनका लागि उनले एक उच्चस्तरीय समिति समेत गठन गर्ने मुख्यमन्त्री थापाको निर्णय रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी असिम लामाले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री थापाले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका शासकीय सुधारका सचिव उमेश ढकालको संयोजकत्वमा बैठक तथा प्रशासनका सचिव रामबाबु पुरी, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराई, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव नारायण मैनाली, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी सदस्य रहेका छन् भने समितिको सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधारका उपसचिव असिम लामालाई तोकिएको छ ।
उक्त समितिले सदाचार नीतिलाई कार्यान्वयन गर्न आवश्यक कार्य योजना तथा कार्यक्रम तयार गर्नेछ ।पछिल्लो समय सामाजिक सद्भावमा देखिएका चुनौती र शासकीय क्षेत्रमा नैतिकताको आवश्यकतालाई मध्यनजर गर्दै, सङ्घीय सरकारको निर्देशन र परिपत्र अनुसार यो नीतिलाई प्रदेशमा लागू गर्न लागिएको हो ।
स्थानीय देखि प्रदेश तहसम्मै सुशासन र सदाचार कायम गर्ने उद्देश्यले उक्त निर्णय गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend