धादिङ । बुधबार तिब्बतबाट आएको भीषण बाढीका कारण धादिङको बेनीघाट बजार र त्रिशुली नदी आसपासका दर्जनौँ बस्तीहरू क्षतिग्रस्त भएका छन् ।
नदीमा अचानक जलस्तर बढेर आएको बाढी बस्तीमा पसेपछि ठूलो धनजनको क्षति भएको छ ।
बाढीले बेनीघाट बजारसहित त्रिशुली नदी किनारका पसल, घर र भौतिक संरचनाहरू ध्वस्त पारेको छ । बुधबार बिहानैदेखि बाढीको वितण्डा सुरु भएपछि स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ भागेका थिए । बाढीले बस्तीमा बालुवा र हिलो थुपारेको छ भने कतिपय घरहरू पूर्ण रूपमा बगाएको छ ।
घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरू दिनभर उद्धार कार्यमा खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बाढीमा फसेकाहरूको उद्धार गरिरहेका छन् । उद्धारकै क्रममा सुरक्षाकर्मीले एक जनाको शव फेला पारेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । स्थानीय प्रशासनका अनुसार बाढीले पुर्याएको वास्तविक क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्नेछ । त्रिशुली नदीमा अझै पनि पानीको बहाव उच्च रहेकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढीका कारण प्रभावित भएका परिवारहरू अहिले सुरक्षित स्थान र राहतको पर्खाइमा छन् ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend