logo

२०८३ कार्तिक १० सोमबार

माथिल्लो त्रिशूली ३ ‘बी’ बाट सम्पर्कविहीन २१३ मध्ये ९१ जनाको सकुशल उद्धार

माथिल्लो त्रिशूली ३ ‘बी’ बाट सम्पर्कविहीन २१३ मध्ये ९१ जनाको सकुशल उद्धार


खबर सर्कल
  • शुक्रबार, १२ भाद्र २०८३
  • 689
    SHARES

    काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीस्थित निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्।

    तिब्बतबाट भोटेकोशीमा भदौ १० गते आएको बाढीले आयोजनास्थलमा व्यापक क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत कर्मचारी तथा कामदारहरू बेपत्ता भएका हुन्।

    आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अनुसार कम्पनीमा कार्यरत कर्मचारी र तिनका परिवारसहित २८ जना, सिभिल निर्माण व्यवसायी ‘एम/एस फेवा कन्स्ट्रक्सन प्रालि’ का १६३ जना कामदार, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फको निर्माण व्यवसायी ‘एम/एस एचएनएसी झाङ्हे-जेभी, चीन’ का ६ जना (४ चिनियाँ र २ नेपाली), परामर्शदाता ‘एम/एस चिलिमे इन्जिनियरिङ एन्ड सर्भिस कम्पनी लिमिटेड’ का १२ जना, १ जना सुरक्षाकर्मी र ३ जना इन्टर्नसिपमा गएका विद्यार्थी गरी कुल २१३ जना सम्पर्कविहीन भएका थिए।

    घटना लगत्तै खोजी तथा उद्धारमा सहयोग पुर्‍याउन गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलाई पत्राचारका साथै मौखिक रूपमा जानकारी गराएर आवश्यक समन्वय थालिएको थियो। कम्पनीको व्यवस्थापन टोली नुवाकोट नै पुगेर सम्भव भएसम्मका सबै उद्धार र सम्पर्कका प्रयासहरू निरन्तर अगाडि बढाएको छ।

    अहिलेसम्म कम्पनीका ३ जना कर्मचारी, परामर्शदाता संस्थाका १ जना, चिनियाँ निर्माण व्यवसायीका २ जना र सिभिल निर्माणकर्ताका ८५ जना कामदार सम्पर्कमा आइसकेका छन्। उद्धार आवश्यक परेकाहरूलाई सुरक्षित स्थानमा ल्याउने काम सम्पन्न भइसकेको छ।

    भदौ ११ गते बिहान कम्पनीका प्रतिनिधिहरू हेलिकप्टरमार्फत आयोजनास्थल पुग्दा कार्यालय र निर्माणस्थल पूर्ण रूपमा बगरमा परिणत भएको पाइएको छ। पैदल वा सवारी साधन जाने स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले एक्साभेटर (उत्खनन उपकरण) लगेर उत्खनन गर्नुपर्ने देखिएको छ। असहज परिस्थितिका बिच सरकार र उद्धार संयन्त्रहरूसँग निरन्तर सम्पर्कमा रहेर एक्साभेटर पुर्‍याई उत्खनन कार्य सुरु गर्न पहल भइरहेको कम्पनीले जनाएको छ।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend