logo

२०८३ कार्तिक १० सोमबार

विपद्‌मा स्थानीय तहलाई दोष होइन, सहारा चाहिन्छ : रास्वपा सचेतक धिताल

विपद्‌मा स्थानीय तहलाई दोष होइन, सहारा चाहिन्छ : रास्वपा सचेतक धिताल


खबर सर्कल
  • मंगलबार, १६ भाद्र २०८३
  • 676
    SHARES

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् वा केन्द्रसँग समन्वय भएन भन्दै आरोप लगाउनु उचित नहुने बताएकी छन्।

    धितालले मंगलबार सामाजिक सञ्जालमार्फत विपद्बाट प्रभावित स्थानीय तह आफैँ पनि पीडित हुने भएकाले उनीहरूबाट पूर्ण क्षमतामा काम गर्न अपेक्षा गर्नु न्यायोचित नहुने धारणा व्यक्त गरेकी हुन्।

    “काठमाडौँमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन,” उनले लेखेकी छन्, “हामीले कस्तो नसम्झेको स्थानीय तह आफैँ पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ।”

    आफैँ गाँस, बास र कपास गुमाएको स्थानीय तहबाट तत्कालै सोच्ने, निर्णय गर्ने र अरूलाई सम्हाल्ने पूर्ण क्षमता अपेक्षा गर्नु कति न्यायोचित हुन्छ भन्ने प्रश्न पनि उनले उठाएकी छन्।

    धितालले प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउनेभन्दा उनीहरूलाई सङ्कटबाट उभिन सक्ने बनाउनु सङ्घीय सरकारको जिम्मेवारी भएको बताएकी छन्।

    “विपद्‌मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्,” उनले भनेकी छन्, “हामी सहारा बनौँ।”

    धितालले पछिल्लो विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्धलाई आरोप–प्रत्यारोपभन्दा सहकार्य र सहयोगका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend