सुर्खेत । अहिले सामाजिक सञ्जालमा हुम्ला जिल्ला अस्पतालका निवर्तमान निमित्त कार्यालय प्रमुख डा. उमाकान्त तिवारीबारे व्यापक चर्चा छ ।
उनको सरुवाको विषयलाई लिएर सामाजिक सञ्जाल नै तातेको हो । भदौ १५ गते प्रदेशको सामाजिक विकास मन्त्रालयले उनको कर्णाली प्रदेश अस्पतालमा सुरुवा गरिएको छ । आफू सरुवा भएको कुरा उनै डा. तिवारीले सामाजिक सञ्जालमार्फत प्रचार गरे ।
अधिकांशले केही दिनअघि विद्या चापागाइँको ‘हेर्ने कथा’मा अस्पतालमा भएको समस्या र स्वास्थ्य व्यवस्थाबारे आफ्नो भनाइ राखेका उनको सोही कारण सरुवा गरिएको भन्दै आलोचना भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले तिवारीको पक्षमा आवाज उठाएका छन् । उनको पक्षमा माहोला बनाउन उनले नै सामाजिक सञ्जालमा राखेको स्टेटसको भूमिका छ । उनले आफ्नो तस्बिरसहति लेखेका छन्, ‘बधाई सबैलाई… बाहुबलीको कटप्पा पाराले मलाई धुलाई गरेको ! सन्दर्भ कर्णाली प्रदेशको सरुवा…राम्रो होस कर्णालीको स्वास्थ्य !
‘साथै, त्यसमा ‘नेपालमा बस्नु मेरो ठूलो गल्ती थियो’ भन्ने शब्द पछि थपेका छन् । उनको यो भनाइले पनि आफूले अस्पतालकै विषयमा आफूले बोलेका कारण सरुवा भएको भन्ने सन्देश जान्छ । उनको पोस्टमा लाइक र कमेन्टको ओइरो लागेको छ । कमेन्टमा अधिकांशले सरुवा गरेकोमा सामाजिक विकास मन्त्रालयको आलोचना गरेका छन् । र उनको प्रशंसा गरिएको छ । सँगै सामाजिक सञ्जालमा धेरै फ्लोअर भएका पेज तथा मिडियामा पनि उनको पक्षमा धारणा बनेको छ ।
के बोलेका थिए उनले ‘हेर्ने कथामा’ ?
हेर्ने कथामा ‘बिरामी अस्पताल’ शीर्षकमा सामग्री प्रसारण गरिएको छ । त्यसमा अस्पतालले भोगेको समस्याबारे उजागर गरिएको छ । कतिपयले स्वयं तिवारीकै कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
विद्या चापागाइँ र डा. तिवारीको वार्तालापः
डा. तिवारीः दरबन्दी अनुसार यहाँ नवौँ–दशौँ तहको एक जना ‘कन्सल्टेन्ट फिजिसियन’ हुनुपर्छ । यस्तो दरबन्दी न यो प्रदेशले धान्न सक्छ, न देशले। उतिबेला जनरल फिजिसियनको दरबन्दी राखियो, तर अहिलेसम्म हुम्ला टेक्या छैन । ‘कन्सल्टेन्ट अब्स्टेट्रिक एण्ड गाइनोकोलोजिष्ट’ राखिएको छ, तर अहिलेसम्म हुम्ला टेकेका छैनन् । यो किन राखियो तल (सुर्खेत)कालाई थाह होला । यो ओएनएम कर्णालीको वस्तुस्थिति अनुसार मिलेकै छैन। उतिबेला जाँड खाएर बनाएकी के बनाए, भगवान जानुन् ।
तेस्रो पद ‘कन्सल्टेन्ट सर्जन’ भनिएको छ, अहिलेसम्म हुम्ला आएको छैन । चौथो तहमा आठौँ तहका चार जना मेडिकल अधिकृत हुनुपर्ने हो । अहिले एक जना प्रसूति बिदामा र अर्को अध्ययन बिदामा हुनुहुन्छ । एक जना संघबाट काजमा आउनुभएको छ । म आठौँ तहको मेडिकल अधिकृतका रूपमा कार्यरत छु । पद आठौँ तहको भए पनि मैले माथिल्ला तीनवटै विशेषज्ञको काम गरिरहेको छु । म नभएको दिन यहाँ जटिल शल्यक्रिया वा सुत्केरीको ‘हेलि–रेस्क्यु’ गर्नुपर्ने अवस्था आउँछ ।
विद्याः धेरैले कार्यालय प्रमुख अस्पतालमा खासै भेटिनुहुन्न भन्छन् नि ?
डा. तिवारीः यथार्थ फरक छ । बितेको १४ महिनामा मेरो छोरो जन्मियो, तर मैले ‘पेटर्निटी लिभ’ समेत लिइनँ । म न्वारानमा समेत घर जान पाइनँ । कार्यालय प्रमुखले समीक्षा बैठक, प्रस्तुतीकरण वा खोप कार्यक्रमका लागि निर्देशनालय वा अन्यत्र जानुपर्ने हुन्छ । नजाँदा ‘हुम्लाको हाकिमले टेरेन’ भन्लान् ।
२४ सै घण्टा खटिनु पर्छ, यो मान्छेको जीवनसँग जोडिएको विषय हो । अहिले मौसम र जात्राले गर्दा केही जहाज उडिरहेका छन्, नत्र यहाँ केही भइहाले रेस्क्यु गर्ने कोही हुँदैन । न जहाज आउँछ, न हेलिकोप्ट र । न्यूनतम दुई जना कन्सल्टेन्ट त चाहियो नि । मन्त्रालय र प्रदेशको प्रणाली नसुध्रिएसम्म केही हुन्न । माथिबाटै गनाउने पानी आएको छ, तल सफा गरेर मात्र केही हुन्न । लटरपटर गरेर सिस्टम चलाइएको छ ।
जिल्लाभरिका लागि औषधि खरिद गर्न १५ लाख रुपैयाँ बजेट छ, जुन चार महिनामै सकिन्छ । ल्याबका लागि वर्षभरिलाई ६ लाख छुट्याइएको छ, जुन असोजमै सकियो ।
तपाईंलाई विश्वास लाग्दैन होला, सुत्केरी आमाको अत्यधिक रक्तश्राव रोक्न औषधि हुँदैन । एकपटक ब्याक–टु–ब्याक पाँचवटा डेलिभरी केस आउँदा मसँग एउटा मात्र औषधि थियो । प्रदेशमा माग्दा स्टक छैन भन्छन् ।
विद्याः सशुल्क फार्मेसीमा टेन्डर नभएर औषधि छैन, निःशुल्कमा म्याद नाघेका औषधि छन् भन्ने सुनियो नि ?
डा. तिवारीः डेढ महिनाअघि आपूर्ति केन्द्र सुर्खेतबाट सयौँ कार्टुन निःशुल्क औषधि आयो, जसको म्याद केवल डेढ महिना मात्र बाँकी थियो । तर चाहिने सिटामोल भने छैन । आर्थिक वर्ष सकिन लाग्दा पनि आवश्यक औषधि आएको छैन । यस्तो प्रणाली कसरी चल्छ ?
अर्कोतिर, ६० देखि ७० प्रतिशत बिरामीलाई हामीले निःशुल्क सेवा दिनुपर्छ । बाँकीबाट उठ्ने न्यूनतम शुल्कले अस्पताल समितिको खाता चल्ने हो । हामीले जोहो गरेरै अस्पताल धानिरहेका छौँ ।
विद्याः स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि जोहो गर्नुपर्ने ?
डा. तिवारीः म आफैँलाई धिक्कार्छु । २०१३ मा विदेश जान खोजेको मान्छे, देशमै केही गरौँ भनेर बसेँ । तर यहाँ सत्य बोल्दा लखेटिनुपर्छ । व्यक्ति शक्तिशाली हुने तर प्रणाली कमजोर हुने परिपाटी गलत हो ।
विद्याः स्टोरमा सामान थन्किएका छन् भन्ने छ नि ?
डा. तिवारीः करोडौँका मेसिन किनेर थन्क्याउने चलन पुरानै हो । यहाँ एउटा सानो एक्सरे मेसिन बिग्रँदा बनाउने मान्छे पाइँदैन र बिरामी मर्छन् ।
विद्याः इसीजी गर्ने पेपरसम्म रहेनछ ?
डा. तिवारीः ल्याबमा रगत जाँच्ने रसायन सकिएको हो । ६ लाखको बजेटले असोजसम्म मात्र धान्यो । अहिले आवश्यक पर्दा हामीले आयुर्वेद अस्पतालसँग समन्वय गरेर काम चलाइरहेका छौँ ।
विद्याः ल्याबको धारामा पानी समेत आउँदैन रहेछ !
डा. तिवारीः अब कार्यालय प्रमुख र स्टोर किपरले पानी बनाउँदै हिँड्ने ? अस्पताल जस्तो ठाउँमा सरसफाइ र पानीका लागि सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि स्थायी समाधान भएको छैन ।
विद्याः थाइरोइड र सुगर जाँच्ने मेसिन पनि प्रयोगविहीन छन् भनिन्छ नि ?
डा. तिवारीः २०–३० लाखको थाइरोइड मेसिन म आउनुअघि नै आइसकेको थियो । तर त्यसका लागि आवश्यक ठाउँ र दक्ष जनशक्ति छैन । अस्पतालको भवन नै जीर्ण छ । विशेषज्ञ डाक्टरहरू यहाँ आउन मान्दैनन्, किनकि उनीहरूको तलब ४८ हजार मात्र छ । काम गर्ने वातावरण छैन, अलिकति तनाव हुनासाथ मान्छे छाडेर हिँडिहाल्छन् ।
विद्याः तपाईं पनि जाने विचारमा हुनुहुन्छ ?
डा. तिवारीः मैले वैशाखमै सरुवा मागेको थिएँ, तर अझै केही समय बस्न भनिएको छ ।
सचिव भन्छिन्: उहाँकै निवेदन अनुसार सरुवा गरिएको हो
यता सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले भने डाक्टर तिवारीकै निवेदन अनुसार, सरुवा गरिएको बताइन् । साथै, स्टेटस आएपछि आफूले नै मंगलबार मन्त्रालयमा बोलाएर सोधिएको पनि उनले बताइन् ।
‘उहाँले निवेदन नदिइकन त कसरी सुरुवा हुन्छ ? स्टाटसको विषयमा धेरै कुरा आएपछि हामीले हिजो मन्त्रालयमै बोलाएर सोध्यौँ,’ रातोपाटीसँग उनले भनिन्, ‘उहाँले मन्त्रालय प्रति मेरो भनाइ होइन, मलाई चाहिँ त्यो भिडिओ बनाएर यसरी न्यू निकाल्ने., त्यतातिरको आशय हो, मन्त्रालयप्रति मेरो केही गुनासो छैन भनेर जानुभएको छ ।’
सरुवा सहमति लिएर मात्रै गरिने उनले बताइन् ।
मन्त्रालयमा आएर डा. तिवारीले भनेको भनाइ उदृत गर्दै सचिव श्रेष्ठले भनिन्, ‘हैन म त निवेदन नै दिएको हो नि त भन्नुभयो । उहाँको डेढ वर्ष मात्र भएको छ, एक त कार्यालय प्रमुख चलाउँदा खेरि पनि सहमति लिनु पर्छ, अर्को कुरा अवधि नपुगे पनि सहमति लिनु पर्छ । त्यो सहमति लिएर गरिदिएको हो ।’
तिवारी अघिल्लो पटक नै सरुवा भएर जान खोजेको पनि उनले बताइन् । डा. तिवारीसँग यो विषयमा बुझ्न खोज्दा उनको फोन उठेन ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend