जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशका विभिन्न भागमा मौसमी गतिविधि सक्रिय रहनेछ। महाशाखाले जारी गरेको सूचनाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका साथै मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागको हकमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज रातिको समयमा पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। राति देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम स्तरको वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।
श्रोत:नेपाल सरकार
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend