काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई पुनर्निर्माण कार्यमा सहयोग गर्न नेकपा (एमाले) को स्वयंसेवक टोली पार्टी केन्द्रीय सदस्य किरण पौडेलको संयोजकमा काठमाडौँबाट आज भुकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको छ ।
गत महिना कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर रहेकोले उनिहरुलाई निमार्ण कार्यमा सहयोग गर्न स्वयंसेवक टोलीलाई शनिवारै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माण सामग्री हस्तान्तरण गरि आज बिदाइ गरेका छन् ।
११ सय जना स्वयंसेवकमध्ये लुम्बिनी प्रदेशबाट २ सय, कर्णाली प्रदेशबाट १ सय ५०, सम्पर्क समन्वयबाट १ सय, सुदूरपश्चिम प्रदेशबाट ५०, बागमती प्रदेशबाट ५०, जना हुनेछन् । त्यसै गरी गण्डकी प्रदेशबाट ५०, विशेष प्रदेशबाट, ५०, कोशी प्रदेशबाट ५० र मधेस प्रदेशबाट ५० जना खटिनेछन् ।
टोलीमा २५ जना रहने गरी ४० अलग–अलग टोली निर्माण गरिने एमालेले जनाएको छ ।४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पीडितहरूको पुनः स्थापना र घर टहरा पुनर्निर्माण सहयोग गर्नेछ । टोलीले दुई साता काम गर्नेछ । पुनः स्थापना र पुनर्निर्माण नसकिए आवश्यकता अनुसार समय बढाएर सहयोग गर्ने एमालेले जनाएको छ ।
बिदाइ कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य रघु पन्त, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति थियो ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend