logo

२०८३ कार्तिक १० सोमबार

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने


खबर सर्कल
  • शनिबार, १८ साउन २०८२
  • 3.7K
    SHARES

    काठमाडौँ, १७ साउन : प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताउनुभयो ।

    “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ”, अधिकारीले रासससँग भन्नुभयो । उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको उहाँले बताउनुभयो ।

    अधिकारीले भन्नुभयो, “१९ जनाविरुद्ध अन्य उजुरीहरु आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरू अन्य केके अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको छ । छाडिएकाको हकमा पनि अनुसन्धान जारी नै छ ।” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौँमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी रहेको प्रहरीले जनाएको छ । —

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend