logo

२०८३ कार्तिक १० सोमबार

‘जलस्रोत विधेयक, २०८१’ विधायन व्यवस्थापन समितिबाट परिमार्जनसहित पारित

‘जलस्रोत विधेयक, २०८१’ विधायन व्यवस्थापन समितिबाट परिमार्जनसहित पारित


खबर सर्कल
  • बुधबार, २२ साउन २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २१ साउनः राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ लाई परिमार्जनसहित पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा आज सिंहदरबारमा बसेको समितिको बैठकले जलस्रोत विधेयक, २०८१ सम्बन्धी मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो ।

    प्रतिनिधिसभामा उत्पति भएको उक्त विधेयक प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा गहन छलफल भएर २०८१ चैत ११ गते पारित भएसँगै राष्ट्रियसभामा पुगेको थियो । राष्ट्रियसभाअन्तर्गतको विधायन समितिको १४ वटा बैठकमा गहन छलफल पछि उक्त विधेयक पारित भएको हो । जलस्रोतको दिगो विकास, उपयोग र संरक्षण एवं व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँट, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्वयका आधारमा सुनिश्चित गर्न उक्त विधेयक ल्याइएको हो ।

    बैठकमा ऊर्जामन्त्री खड्काले वृहत छलफल र मेहनतपछि विधेयक पारित भएकामा समितिका सभापतिसहित सबै सदस्यलाई धन्यवाद दिनुभयो । विधेयक जनताको सरोकारको विषय भएकाले समितिका सबै सदस्यको धारणालाई समेटेर सर्वसम्मत पारित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । विसं २०८१ असार १४ गते प्रतिनिधिसभामा प्रस्तुत भएको उक्त विधेयक प्रतिनिधिसभामा सामान्य छलफल गरी गत वर्ष असार २५ गते दफाबार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा पठाइएको थियो ।

    पूर्वाधार विकास समितिमा नौ महिना छलफलपछि विधेयक पारित भई राष्ट्रियसभामा पुगेको थियो । विधायन व्यवस्थापन समितिका सदस्यबाट प्राप्त संशोधन प्रस्ताव, सरोकार भएकाहरू, विज्ञबाट प्राप्त सुझावलाई आधार मानेर विधेयकलाई परिमार्जनसहित पारित गरिएको समितिका सभापति तुलसाकुमारी दाहालले जानकारी दिनुभयो । उक्त विधेयक साउन २३ गते बस्ने राष्ट्रियसभाको बैठकमा पेस गरिने सभापति दाहालले बताउनुभयो ।

    NA 2.jpg

    • R.S.S.

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend