logo

२०८३ कार्तिक १० सोमबार

फेदीखोलाले साधारण सेयर बिक्री गर्ने

फेदीखोलाले साधारण सेयर बिक्री गर्ने


खबर सर्कल
  • आइतबार, १ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १ भदौ : फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले रु १७ करोड ५० लाख बराबरको साधारण सेयर बिक्री गर्ने भएको छ ।

    सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग)मा चार दशमलव तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

    सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ ।

    आयोजना निर्माण सम्पन्न गर्न रु ९४ करोड लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण रु चार करोड लागत वृद्धि भई रु ९८ करोड लाग्ने भएको छ ।

    आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात् रु ४८ करोड स्वपुँजी सेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् रु ५० करोड राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिनुभयो ।

    साधारणसभाले कम्पनीको अधिकृत पुँजी रु ६० करोडमा रु १० करोड थप गरी रु ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् रु १७ करोड ५० लाखको सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ ।

    त्यसैगरी, साधारणसभाले वन्डर्स इनर्जी (खिम्ती घ्वाङ्गखोला नौ मेगावाट)मा रु पाँच करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै (इर्खुवा खोला जलविद्युत् आयोजना १५ मेगावाट)मा रु १५ करोड लगानी गर्ने भएको छ ।

    कम्पनीको मुख्य लगानीमा २०९० सालभित्रमा कम्तीमा एक सय मेगावाट क्षमताको आयोजना अगाडि बढाउने निर्णय गरेको छ ।

    साथै कम्पनीको नियमावली कम्पनीमा पाँच जना सञ्चालक रहनेमा अगामी चारवर्षे कार्यकालका लागि संस्थापक चन्द्रप्रसाद बाँस्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend