logo

२०८३ कार्तिक १० सोमबार

सहरमा बस्नेलाई शिविरमार्फत सेवा दिँदै काभ्रेका स्थानीय तह

सहरमा बस्नेलाई शिविरमार्फत सेवा दिँदै काभ्रेका स्थानीय तह


खबर सर्कल
  • आइतबार, १ भाद्र २०८२
  • 1.6K
    SHARES

    काभ्रेपलाञ्चोक, १ भदौ ः गाउँ छाडेर सहर बस्ने आफ्ना नागरिकलाई काभ्रेपलाञ्चोकका स्थानीय तहले शिविरमार्फत सेवा दिन थालेका छन् ।

    चौँरीदेउराली गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि शिविर सञ्चालनको तयारी गरेको छभने तेमाल गाउँपालिकाले साउन तेस्रो साता शिविरमार्फत सहरमा बस्नेलाई आवश्यक सेवा दिएको थियो ।

    विशेषगरी सामाजिक सुरक्षा भत्ता वितरण एवं परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ ।

    चौँरीदेउरालीले सार्वजनिक सूचना नै प्रकाशन गरी आजदेखि काठमाडौँको विभिन्न स्थानमा सेवा दिने जनाएको हो ।

    करिब एकहप्ते शिविरमार्फत सेवा दिन सार्वजनिक गरी तालिकामा मिति र वडा नं उल्लेख गरी उक्त वडाका नागरिकलाई सेवा दिने जनाइएको छ ।

    यसअघि यही साउन तेस्रो साता जिल्लाको तेमाल गाउँपालिकाले साउन तेस्रो साता गाउँ छाडेर काठमाडौँ उपत्यकालगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको थियो ।

    गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो ।

    एकहप्ते शिविरबाट सामाजिक सुरक्षा भत्ता लिने पाँच सय ९१ नगरिकलाई सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले जहाँ गाउँपालिकाको नागरिक बस्छन् त्यही सेवा दिने कार्यलाई निरन्तरता दिइने तथा यस्ता नवीनतम् कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजने योजना बनाउँदै गरेको बताउनुभयो ।

    अभिलेख अद्यावधिकमा पनि टेवा पुगेको जनाउँदै गाउँपालिकाले उपत्यकालगायत सहरमा बस्नेले अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त हुने जनायो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend