logo

२०८३ कार्तिक १० सोमबार

पत्रकार महासङ्घबाट राससलाई पुस्तक प्रदान

पत्रकार महासङ्घबाट राससलाई पुस्तक प्रदान


खबर सर्कल
  • सोमबार, २ भाद्र २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, २ भदौः नेपाल पत्रकार महासङ्घले राष्ट्रिय समाचार समिति (रासस)लाई पत्रकारितासम्बन्धी ५० थान पुस्तक उपलब्ध गराएको छ ।

    रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा आज महासङ्घ महासचिव रामप्रसाद दाहालले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उक्त पुस्तक हस्तान्तरण गर्नुभएको हो । पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससको पुस्तकालयका लागि पत्रकारितासम्बन्धी महत्त्वपूर्ण पुस्तक उपलब्ध गराएकामा धन्यवाद दिनुभयो ।

    उहाँले राससले स्थापना गरेको पुस्तकालयले पत्रकार र पत्रकारिताका विद्यार्थीलगायत मिडिया तथा पत्रकारिताबारे रुचि राख्नेहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । राससका महाप्रबन्धक सन्दीप राईले राससलाई पत्रकारिताको अनुसन्धान केन्द्र बनाउने अभियानमा महासङ्घले पुस्तक उपलब्ध गराएकामा खुसी व्यक्त गर्नुभयो ।

    महासङ्घका महासचिव दाहालले पत्रकारिताबारे सोध, अनुसन्धान गर्नेहरूको सहजताका लागि रासस पुस्तकालय सहयोग पुग्ने भन्दै यसलाई ‘इलाइब्रेरी’ कै रूपमा विकास गर्न सके अझै राम्रो हुने बताउनुभयो । रासस मिडिया सङ्ग्रहालयसँगै पुस्तकालयको स्थापना गरेको छ । यसप्रति आकर्षण बढ्दो छ ।

    सङ्ग्रहालय सञ्चालन भएको दिनदेखि विज्ञ, सरोकार भएका व्यक्ति तथा संस्थाका प्रतिनिधिहरू अवलोकनका लागि आउने क्रम जारी छ । राससले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा २०८१ फागुन ७ गतेदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन कक्ष’ सबैका लागि खुला गरेको छ ।

    रासस स्थापना भएको दिन २०१८ फागुन ७ गतेदेखि हालसम्मका समाचार सामग्री बुलेटिन तथा सञ्चार उपकरण राखिएका छन् । यस्तै, पुस्तकालयमा हाल विभिन्न किसिमका ७०० हाराहारी पुस्तक छन् ।

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend