logo

२०८३ कार्तिक १० सोमबार

नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता


खबर सर्कल
  • सोमबार, २ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, २ भदौः चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ ।

    सिएफआरडीले आज यहाँ आयोजना गरेको कार्यक्रममा ललितपुरका दुई र नुवाकोटको एक गाउँबीच सो परियोजना सञ्चालन गर्न सम्झौता भएको हो । चीनको कोइलुङ र ललितपुरको गोटीखेल, ललितपुरकै खोकना र चीनको प्याङयाङ एवं नुवाकोटको किम्ताङ र चीनको गउँगाङबीच सो सम्झौता भएको हो ।

    आगामी दिनमा ती गाउँका अनुभव आदानप्रदान हुने जनाइएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले सिएफआरडीले विगत १० वर्षदेखि निरन्तर खानेपानी, शिक्षा र गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यले दुई देशका जनस्तरको सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले आगामी दिनमा सिएफआरडीसँग मिलेर दुई देशको सम्बन्ध र विकासमा नयाँ युगको सुरुआत गर्न सकिने बताउनुभयो । ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले सिएफआरडी परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

    समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले गरिबी निवारणमा सिएफआरडीले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो । सो अवसरमा सिएफआरडीका निर्देशक चेन हानटाउले नेपालको गरिबी न्यूनीकरण र मानवीय सहायताको क्षेत्रमा सहयोग गर्दै आाएको जानकारी दिनुभयो ।

    सो परियोजनाले नेपालमा हाइब्रिड धानखेती, उच्चस्तरीय सागसब्जीखेतीजस्ता कार्यक्रम सञ्चालन गरेर गरिबी न्यूनीकरणमा योगदान गर्दै आएको छ । कार्यक्रममा कृषि, विपद् व्यवस्थापनलगायतका क्षेत्रका सफल अनुभव प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend