logo

२०८३ कार्तिक १० सोमबार

बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाउँदा बन्द

बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाउँदा बन्द


खबर सर्कल
  • मंगलबार, ३ भाद्र २०८२
  • 1.1K
    SHARES

    बैतडी, ३ भदौः जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो ।

    गएका तीन वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् ।

    दर्ता भएका उद्योगमा कृषि, वन, आटामिल, मसला, अचारलगायतका छन् ।

    आर्थिक वर्ष २०७९/८० मा यहाँ चार सय २७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउदले बताउनुभयो ।

    तथ्याङ्कानुसार आव २०८०/८१ मा उक्त सङ्ख्याबाट घटेर एक सय ९१ उद्योगमात्र दर्ता भएको देखिएको छ ।

    त्यसैगरी, आव २०८१ / ८२ मा पनि अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता क्रम घटेको छ । गत आवमा यहाँ एक सय ३५ मात्र उद्योग दर्ता भएका देखिएका छन् ।

    गएको तीन वर्षमा यहाँ वाणिज्यतर्फ तीन सय ९९ सय फर्म दर्ता भएका छन् ।

    वाणिज्यतर्फ आव २०७९ /८० मा एक सय ६३, २०८० / ८१ मा एक सय ७३ र गत २०८१ /८२ मा ६३ फर्म दर्ता भएका छन् ।

    घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग नवीकरण पनि हुने गरेका छन् ।

    दर्ता भएका उद्योग पाँच वर्षमा नवीकरण गर्नुपर्ने सूचना अधिकारी साउदले बताउनुभयो ।

    आव २०७९÷८० मा दुई सय ५१, आव २०८० /८१ मा दुई सय चार र गत आव २०८१ /८२ मा तीन सय ९३ उद्योग नवीकरण भएका उहाँले बताउनुभयो ।

    तीन वर्षको अवधिमा वाणिज्यतर्फका एक हजार १२२ व्यवसाय नवीकरण भएका छन् ।

    जिल्लामा उद्योग र व्यवसाय दर्ता खारेज पनि बढ्दो क्रममा छ ।

    गएका तीन वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवसाय खारेज भएका छन् ।

    युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायत कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने सङ्ख्या घटेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले बताउनुभयो ।

    सरकारी सेवा सुविधा र अनुदानका लागि मात्र पनि उद्योग दर्ता हुने गरेका र पछि अनुदान र सुविधा नपाउँदा खारेज गर्ने गरेका उहाँले बताउनुभयो ।

    त्यसैगरी, गएको तीन वर्षको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायत शीर्षकबाट रु ७७ लाख छ हजार ७७८ राजस्व सङ्कलन भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend