logo

२०८३ कार्तिक १० सोमबार

स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल

स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल


खबर सर्कल
  • मंगलबार, ३ भाद्र २०८२
  • 1.2K
    SHARES

    कर्णाली, ३ भदौ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताउनुभएको छ ।

    यही भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत् सरसफाइ कार्यक्रम’मा उहाँले वातावरणीय सरसफाइले सभ्य र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने छ भन्नुभयो ।

    यसमा सबै सरोकारवालाले आफ्नो अधिकारका मात्र कुरा नगरी कर्तव्य एवं दायित्व पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    “आफ्नो घर अगाडिको आँगन सफा राख्नुस्, बाहिरबाट आउने पाहुनालाई समेत यसले खुसी बनाउँछ”, उहाँले भन्नुभयो, “सरसफाइले स्वस्थ जीवन त हुन्छ नै, त्यसले सभ्य र सचेत नागरिकको पहिचान पनि दिन्छ र बाह्य पाहुनालाई पनि आकर्षण गर्छ ।”

    सकेसम्म फोहरलाई मोहरमा बदल्ने गरी सिर्जनशील कार्य गर्न उद्योगी एवं व्यापार व्यवसायीलाई अनुरोध गर्दै मुख्यमन्त्री कँडेलले प्रकृतिमैत्री क्रियाकलापबाट मानव स्वास्थ्य स्वस्थ र स्वच्छ राख्ने बताउनुभयो ।

    उहाँले भदौ ४ गतेको दिनलाई आजदेखि सरसफाइ, सचेतना तथा व्यवस्था ल्याउन योगदान पुर्याउने सपूतहरूको सम्मान र उनीहरूले देखेको सपना पूरा गर्ने कार्यक्रम तीन दिनसम्म उत्सवका रूपमा मनाउन प्रदेशवासीलाई अपिल गर्नुभयो ।

    कार्यक्रममा सुरक्षा निकायका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्षमा हर्षविक्रम खड्कालगायत सरोकारवालाको सहभागिता थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend