logo

२०८३ कार्तिक १० सोमबार

दक्ष जनशक्तिबिना विकास सम्भव छैनः मन्त्री खड्का

दक्ष जनशक्तिबिना विकास सम्भव छैनः मन्त्री खड्का


खबर सर्कल
  • शुक्रबार, ६ भाद्र २०८२
  • 1.8K
    SHARES

    खाँदबारी (सङ्खुवासभा), ६ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताउनुभएको छ ।

    सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित ‘२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम’को समापन कार्यक्रममा मन्त्री खड्काले परम्परागत शिक्षाले मात्र नपुग्ने उल्लेख गर्दै उहाँले प्राविधिक सीप र व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा सम्भव नभएको बताउनुभयो ।

    सङ्खुवासभाको भौगोलिक र पर्यटनको सम्भावनाबारे उल्लेख गर्दै मन्त्री खड्काले त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाले अर्बौँ रुपैयाँ राजस्व दिन सक्ने पर्यटन सम्भावना बोकेको बताउनुभयो ।

    उहाँले यसलाई सही ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । निकट भविष्यमै सङ्खुवासभामा सिटिइभिटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुन लागेको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा सिटिइभिटीका सदस्य–सचिव महेश भट्टराईले ऊर्जा मन्त्रालयको पहलमा तालिम सञ्चालन गर्न पाएकामा खुसी व्यक्त गर्दै तालिम लिएका युवालाई जलविद्युत् आयोजनामा इन्टर्नसिपको अवसर दिलाइदिन आग्रह गर्नुभयो ।

    त्यसैगरी, खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले आत्मनिर्भर जिल्ला बनाउन नियमित रूपमा यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताउनुभयो ।

    तालिममा सहभागी युवाले प्राप्त ज्ञानले आफूहरूलाई रोजगारी र उद्यमशीलतामा अघि बढ्न प्रेरणा मिलेको अनुभव सुनाए ।

    उक्त तालिम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले सञ्चालन गरेको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend