logo

२०८३ कार्तिक १० सोमबार

मुग्लिन -पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

मुग्लिन -पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो


खबर सर्कल
  • आइतबार, ८ भाद्र २०८२
  • 1.2K
    SHARES

    दमौली (तनहुँ), ८ भदौः मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो ।

    मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज २५ गतेसम्म म्याद थप भएको छ ।

    यो खण्डको तेस्रो पटक थप भएको म्याद गत असार २९ गतेदेखि सकिएको थियो । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ ।

    कालोपत्रबाहेकका अन्य केही काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको थियो । उहाँले भन्नुभयो, “कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङ्रोगन पनि सकिएको छ । अब थोरैमात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका थियौँ ।”

    सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनमा कालोपत्रको काम सकिएको उहाँको भनाइ छ ।

    पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

    उक्त खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

    विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो ।

    पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend