गण्डकी, ८ भदौः पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रूपमा सञ्चालन गर्दै आइरहेको ‘समता काव्य सन्ध्या’को ३८४औँ शृङ्खलामा मोतीजयन्ती विशेष गजल वाचन गरिएको छ ।
कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले युवाकवि मोतीराम भट्ट छोटो समय बाँचेर पनि नेपाली साहित्यको अद्वितीय सेवा गर्नुभएकाले समस्त युवाले उहाँबाट धेरै सिक्नसक्ने बताउनुभयो ।
मोतीराम भट्ट नेपाली गजल विधाका प्रारम्भकर्ता भएका बताउँदै उहाँले नेपाली गजल स्रष्टाहरूले भट्टलाई भुल्न नसक्ने धारणा राख्नुभयो ।
केही समय पहिलासम्म कस्तालाई गजल भन्ने र कस्तालाई नभन्ने भन्ने विवाद रहेकामा ‘पोखरेली गजल समूह’ले गजलसम्बन्धी घोषणापत्र निकालेपछि यो विवाद अन्त भई नवोदित गजलकारलाई लेखनमा लाग्न नवीन उत्साह पैदा भएको उहाँको भनाइ छ ।
संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले युवाकवि मोतीराम भट्ट बहुमुखी प्रतिभाशाली कवि, गीतकार, गजलकार, नाटककार, नाटक निर्देशक र जीवनीकार भएको उल्लेख गर्दै उहाँले यससँगै पढ्दै, लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, सङ्घसंस्था खोल्दै, पुस्तकालय खोल्दै, छापाखाना चलाउँदै भानुभक्त आचार्यलाई प्रकाशनमा पनि ल्याउन सफल भएको बताउनुुभयो ।
विश्वसाहित्यका जाेन किट्स, शेली, सिल्भिया प्लाथलगायत झैँ मोतीरामले ३० वर्षमात्र बाँचेर पनि अद्वितीय काम गर्नुभएको उहाँको भनाइ छ ।
कार्यक्रममा विम्ब कवि एवं प्राज्ञ रमेश श्रेष्ठ, नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष ईश्वरमणि अधिकारी, पोखरा प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति पदमराज ढकाल, सरस्वती श्रेष्ठ सरु, दीपक समीप, प्रकाश ज्ञवाली, शिव त्रिपाठी, जमुना कायस्थ, कृष्ण सुवेदी, विर्सना बस्नेत, सुरज पौडेल, भूमिराज बस्ताकोटी, रेशम गिरी, यशोधा गौतम, नवराज न्यौपाने, त्रुपक, संस्थाकी अध्यक्ष रिता अधिकारी ऋतु, साहित्य विभागकी संयोजक केशु शर्मा, सचिव एमडी काफ्लेलगायतले गजल वाचन गर्नुभएको थियो ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend