logo

२०८३ कार्तिक १० सोमबार

पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीजलाई विकृत बनाएको छः उपाध्यक्ष भुसाल

पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीजलाई विकृत बनाएको छः उपाध्यक्ष भुसाल


खबर सर्कल
  • आइतबार, ८ भाद्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, ८ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तीज पर्वलाई पुँजीपतिको व्यापारिक प्रवृत्तिले विकृत बनाएको बताउनुभएको छ ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागले आज यहाँ आयोजना गरेको ‘तीज जनसंस्कृति र प्रगतिशील’ विषयक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष भुसालले नाफा कमाउन बजारमा लामो समयसम्म व्यापार गर्ने, तडकभडकलाई प्रोत्साहन दिने र मौलिक संस्कृतिलाई मेट्ने कार्य बढिरहेको बताउनुभयो ।

    यस्तो प्रवृत्तिलाई रोक्न जरुरी रहेको उहाँको भनाइ थियो । उपाध्यक्ष भुसालले समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने सोच कायम रहेको उल्लेख गर्दै तीजलाई महिला उत्पीडनसँग जोडिएको पर्वका रूपमा पनि बुझ्नुपर्ने धारणा राख्नुभयो ।

    उहाँले तीजलाई भड्किलो र खर्चिलो नबनाई मौलिक लोकगीतको संरक्षण, महिला अधिकारप्रतिको सचेतना र महिलालाई सङ्गठित गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजयप्रसाद सापकोटाले तीजलाई सांस्कृतिक, सामाजिक र मूल्यमान्यतालाई अगाडि बढाउने प्रगतिशील माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा छात्रा विभागकी अध्यक्ष ममता अधिकारीले तीजलाई सामाजिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै मनाउनुपर्ने र विभाग आगामी दिनमा पनि महिला उत्थानका लागि सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend