logo

२०८३ कार्तिक १० सोमबार

‘तीजपर्व लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण’

‘तीजपर्व लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण’


खबर सर्कल
  • मंगलबार, १० भाद्र २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, १० भदौः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा दिने बताउनुभएको छ ।

    हरितालिका तीज पर्व २०८२ का अवसरमा सामाजिक सञ्जालमार्फत उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा सबै दिदीबहिनीहरूलई शुभकामना व्यक्त गर्दै तीजले सामाजिक–सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा तीजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच र सशक्तीकरणलाई प्रोत्साहित गर्छ भन्नुभएको छ ।

    पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गर्नुभएको छ ।

    उहाँले विवाहिता महिलाले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने धार्मिक आस्था यस पर्वसँग गहिरो रूपमा जोडिएकोे छ भन्नुभयो ।

    “विवाहपश्चात् महिलाले जन्मघर छाडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिइन्छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यस पर्वले चेली र माइतीबीचको आत्मीयता, परिवार र साथी–सङ्गीबीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ ।”

    उहाँले तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने बताउनुभएको छ ।

    उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, “पछिल्ला वर्षहरूमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय बनेको छ ।

    तसर्थ, हामी सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरूलाई संरक्षण गर्दै, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउन प्रयास गर्नु आवश्यक छ ।”

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend