logo

२०८३ कार्तिक १० सोमबार

रोपो कुहिन थालेपछि किसान चिन्तित

रोपो कुहिन थालेपछि किसान चिन्तित


खबर सर्कल
  • मंगलबार, १० भाद्र २०८२
  • 1.5K
    SHARES

    गलकोट (बागलुङ) १० भदौः यहाँको काठेखोला गाउँपालिका–१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रुपमा कुहिएको छ । गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो । थप नकुहियोस् भनेर औषधि छर्कनुभयो । तर, कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन लागेको उहाँको भनाइ छ ।

    काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका अधिकांश किसान खत्रीको जस्तै रोपो कुहिने समस्याले चिन्तित छन् । किसानले कृषि ज्ञान केन्द्रमा रोपो कुहिएको र सुकेको जानकारी गराएका छन् । ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालसहितका प्राविधिकको टोलीले स्थलगत जाँच गरेको छ ।

    गवारो कीरा र खेत कुहिने रोगका कारण अधिकांश किसानको रोपो कुहिएको र सुकेको सिलवालले बताउनुभयो । सिलवालका अनुसार किसानमा प्राविधिक ज्ञानको अभावले रोपो कुहिने र सुक्ने समस्या देखिएको हो । जथाभावी झारनाशक विषादीको प्रयोग गरेका कारण पनि रोपोमा समस्या देखिएको उहाँले बताउनुभयो ।

    “रोपो कुहिएको र सुकेको भन्दै दैनिक कृषि ज्ञान केन्द्रमा सात जनाभन्दा बढी किसान आउनुहुन्छ,” सिलवालले भन्नुभयो, “खेतमै पुगेर अनुगमन गर्ने र सल्लाह सुझाव दिने गरेका छौँ ।” गौरिया, मसिनो, गुडुरा, जेठोबुढो र हाइब्रिड धानमा बढी समस्या देखिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी बताउनुभयो ।

    निरीक्षणपश्चात समस्याअनुसार विषादी दिएर पठाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार रोपो पहेँलो हुने समस्या देखिएपछि किसानले युरिया मल प्रयोग गर्दा समस्या थपिएको हो । जिल्लामा धानखेती हुने पाँच हजार ७०७ सात हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ४७८ हेक्टर क्षेत्रफलमा यसवर्ष रोपाइँ भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend