logo

२०८३ कार्तिक १० सोमबार

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रमा तीज मेलाको अवलोकन

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रमा तीज मेलाको अवलोकन


खबर सर्कल
  • मंगलबार, १० भाद्र २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, १० भदौ : तीज पर्वका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्रको अवलोकन गर्नुभएको छ ।

    पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले पशुपतिनाथ मन्दिरमा दर्शन व्यवस्था, भक्तजनका समस्याका बारेमा जानकारी लिनुभएको हो । उहाँले लाममा बसेका वर्तालु भक्तजनसँग पनि कुराकानी गर्नुभएको थियो ।

    लाममा बसेका महिला वर्तालुले आधा घण्टासम्म लाममा बसेपछि दर्शन गर्न पाइएको प्रतिक्रिया दिएका थिए । पशुपतिनाथको मूल मन्दिरको पश्चिम ढोका अघि यस वर्षको तीजदेखि कोषले जलवाष्पीकरण गरी भक्तजनलाई शीतलता प्रदान गरेको छ ।

    त्यसको पनि मन्त्री पाण्डेले अवलोकन गर्नुभएको थियो ।

    अवलोकनपछि उहाँले यसैगरी भक्तजनलाई सहज हुनेगरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । तीजका अवसरमा आज बिहानदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । पशुपतिनाथको मूल मन्दिरभित्र नै प्रवेश गरेर बेलुकी पौने छ बजेसम्म चार लाख बढी भक्तजनले दर्शन गरिसकेको अनुमान गरिएको सूचना अधिकारी अनिता भट्टले राससलाई जानकारी दिनुभयो ।

    पशुपतिनाथको नित्य भोगका लागि दिउँसो १ बजेदेखि १५ देखि २० मिनेटका लागि मन्दिर बन्द गरिएको कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यो समयबाहेक दिनभर भक्तजनले मन्दिरमा प्रवेश गरेर दर्शन गरेका छन् ।

    मूल मन्दिर बन्द गरेपछि बाहिरी भागमा केही महिला वर्तालुको घुइँचो जम्मा भएको थियो । तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खोलिएको थियो । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थ पाल्नु हुने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरूलाई सहज रूपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो ।

    चार ढोका खुला भएदेखि नै रातो पहिरनमा सजिएका श्रद्धालु महिला वर्तालुको पशुपति क्षेत्रमा घुइँचो लागेको हो ।

    पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चारवटा लामको व्यवस्था गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेपछि भने आठ एवं कुनै बेला नौवटासम्म लामको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।

    भक्तजन मूल मन्दिरभित्र प्रवेश गरेपछि दर्शन गरेर तत्काल निस्कने गरी व्यवस्था मिलाइएको छ । बेलुकी साढे ७ बजेसम्म महिला वर्तालुलाई दर्शन गर्न दिइने कोषले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend