logo

२०८३ कार्तिक १० सोमबार

सार्वजनिक लेखा समितिद्वारा महालेखा परीक्षकको प्रतिवेदन पेस

सार्वजनिक लेखा समितिद्वारा महालेखा परीक्षकको प्रतिवेदन पेस


खबर सर्कल
  • बुधबार, ११ भाद्र २०८२
  • 1.5K
    SHARES

    महेन्द्रनगर (धनुषा), ११ भदौ : मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल समक्ष सार्वजनिक लेखासमितिका सभापति मञ्जु थापा मगरले महालेखा परीक्षकको कार्यालयको पाँच वर्षे प्रतिवेदन पेस गर्नुभएको छ ।

    आज जनकपुरधाममा सभापति मगरले महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सभामुख समक्ष पेस गर्नुभएको हो । सार्वजनिक लेखा समितिले आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले महालेखा परीक्षकको सो प्रतिवेदन प्रदेशसभामा पेस गरेको छ ।

    सभापति थापा मगरले प्रतिवेदन पेस गर्ने क्रममा भन्नुभयो, “महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक संस्थाको वित्तीय अनुशासन तथा जवाफदेहिता सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण दस्तावेज हो ।

    यसले सरकारका खर्च, राजस्व व्यवस्थापन तथा वित्तीय कार्यसम्पादनमा देखिएका कमजोरी पहिचान गर्न सहयोग गर्छ ।” सभामुख मण्डलले प्रतिवेदन ग्रहण गर्दै लेखापरीक्षणमार्फत देखिएका त्रुटि सुधार गर्दै संस्थागत सुधारतर्फ प्रदेश सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, “सार्वजनिक रकमको सदुपयोग र वित्तीय पारदर्शीताका लागि लेखासमितिको भूमिका निर्णायक छ । यस प्रकारका प्रतिवेदनले समग्र शासन प्रणालीमा सुधार ल्याउन मद्दत गर्छ ।”

    सार्वजनिक लेखासमितिले प्रतिवेदनको अध्ययन गरी आवश्यक सिफारिस र सुझावसहित आगामी प्रदेशसभा बैठकमा छलफलका लागि पेस गर्ने तयारी गरेको जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend