logo

२०८३ कार्तिक १० सोमबार

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखिएपछि सचेतना अभियान

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखिएपछि सचेतना अभियान


खबर सर्कल
  • शुक्रबार, १३ भाद्र २०८२
  • 1.9K
    SHARES

    वीरगञ्ज (पर्सा), १३ भदौः दुईजनामा जापानिज इन्सेफलाइटिसका सङ्क्रमण देखापरेसँगै वीरगञ्ज महानगरले सचेतनामूलक कार्यक्रम अघि सारेको छ । पछिल्लो समय वीरगञ्ज महानगर र ठोरी गाउँपालिकामा जापानिज इन्सेफलाइटिसका एक–एक सङ्क्रमित भेटिएका थिए ।

    महानगरले यहाँका विभिन्न स्थानमा रहेका पशुपन्छी फार्ममा विशेष अनुगमन तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ । महानगरको वडा नं १९ बरवा र वडा नं २२ मनियारीका सुँगुर तथा बङ्गुर फार्ममा गरिएको अनुगमनका क्रममा स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको छ ।

    महानगर प्रमुख राजेशमान सिंहले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै नियमित रूपमा औषधि छर्कने र फार्मस्तरमा सरसफाइलाई जोड दिइरहेको जानकारी दिनुभयो । अभियानमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन–पर्यावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोली सहभागी थियो ।

    महानगरले सुँगुरपालन क्षेत्रमा रोगको सम्भावना बढी हुने भएकाले सरसफाइमा निरन्तर ध्यान दिन, पानी जम्न नदिन, मलमूत्रको उचित व्यवस्थापन गर्न तथा लामखुट्टे नियन्त्रणका उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पोथी लामखुट्टेले पशुपन्छी घोडा, सुँगुर, बङ्गुर, हाँस आदिलाई टोकेर मानिसलाई टोक्यो भने मानिसमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण देखापर्ने बताउनुभयो ।

    उहाँका अनुसार यो रोगको जीवाणुले मानिसको मस्तिष्कमा असर पुर्याउँछ । यो रोगको लक्षण देखापर्नासाथ बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगेर उपचार गर्नुपर्ने हुन्छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend