logo

२०८३ कार्तिक १० सोमबार

रासस र सिन्ह्वाबीच समाचार आदानप्रदान सम्झौता

रासस र सिन्ह्वाबीच समाचार आदानप्रदान सम्झौता


खबर सर्कल
  • सोमबार, १६ भाद्र २०८२
  • 1.7K
    SHARES

    काठमाडौँ, १६ भदौः मन्त्रिपरिषद्ले राष्ट्रिय समाचार समिति (रासस) र चीनको सिन्ह्वा न्युज एजेन्सीबीच समाचार आदानप्रदान गर्नेसम्बन्धी सम्झौतापत्रलाई स्वीकृत गरेको छ ।

    मन्त्रिपरिषद्को यही भदौ १३ गतेको बैठकले उक्त सम्झौतालाई स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले रासस र सिन्ह्वाबीच हुने सम्झौतालाई प्रधानमन्त्री केपी शर्मा ओलीको हाल भइरहेको चीन भ्रमणकै क्रममा दुवै पक्षबाट हस्ताक्षर हुने जानकारी दिनुभयो ।

    राससका नायब महाप्रबन्धक सोमनाथ लामिछानेले रासस र सिन्ह्वाबीच विगतमा समाचार आदानप्रदान सम्झौता भए पनि पछिल्ला वर्षमा सूचना प्रविधिमा भएका प्रगति र सञ्चारमाध्यममा आएका नयाँ विधा समेतलाई ध्यान दिएर सम्झौतालाई थप परिस्कृत र विस्तृत बनाइएको जानकारी दिनुभएको छ ।

    सम्झौतामा सिन्ह्वाले राससलाई विगतदेखि उपलब्ध गराइरहेका अङ्ग्रेजी भाषामा समाचार र तस्बिरका अलावा भिडियो समाचार र अङ्ग्रेजी भाषामा मल्टिमिडिया सामग्री निःशुल्क उपलब्ध गराउने जनाइएको छ ।

    साथै, रासस र सिन्ह्वाका समाचारदाता, सम्पादक र प्राविधिक विज्ञबीच अनुभव आदानप्रदान गर्ने, नयाँ प्रविधिको प्रयोगसम्बन्धी सहकार्य गर्ने तथा तालिमका कार्यक्रमहरू सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend