logo

२०८३ कार्तिक १० सोमबार

चौताराका किसान किबीखेतीमा आकर्षित

चौताराका किसान किबीखेतीमा आकर्षित


खबर सर्कल
  • बुधबार, १८ भाद्र २०८२
  • 1.5K
    SHARES

    चौतारा (सिन्धपाल्चोक), १८ भदौ : अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँचीखेती सखाप भएको छ । विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ ।

    अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ । पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गरेका शशिनाथ शाक्यले वार्षिक पाँच लाख आम्दानी गर्नुहुन्थ्यो ।

    तर उहाँको व्यवसाय अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेपछि सखाप भयो । अलैँचीको बेर्ना उत्पादन तथा अलैँची भट्टी राखेर बिक्री गरेर लाखौँ आम्दानी गर्ने शाक्य अहिले न अलैँची बेर्ना उत्पादन गर्नुहुन्छ न तयारी अलैँची बिक्री नै गर्नुहुन्छ । जिल्लाका अलैँची किसानलाई यो व्यवसाय सिकाउनुभएका शाक्यले जिल्लाभरि नै अलैँची विरुवा वितरण गर्नुहुन्थ्यो । तर अहिले यो व्यवसाय चटक्कै छाड्नुभएको छ । अलैँचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैँले नष्ट गर्नुपर्ने भनेपछि समुदायले आफैँले नष्ट नगरेको उहाँ बताउनुहुन्छ ।

    अलैँचीमा लाग्ने सिन्धुरो रोग एक ठाउँमा नष्ट गरे पनि वरिपरि सबै ठाउँमा नष्ट नगरेसम्म अन्त्य हुँदैन । उक्त रोग लागेको अलैँची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले अन्य पेसा नै छाडेको किसान शाक्य बताउनुहुन्छ । किसान शाक्यजस्तै अत्तरपुरका प्रायः किसानले अलैँची लगाउन छाडेका छन् ।

    केही किसानले किबी व्यवसाय थालेको उहाँ बताउनुहुन्छ । किबीखेती सुरुमा लगाउन खर्चिलो र निकै मिहिनेत गर्नुपर्ने भए पनि भरपर्दो आम्दानी भएपछि किसानले यो व्यवसाय रोजेका छन् ।

    पछिल्लोपटक किवी व्यवसाय थाल्नुभएका शाक्यका अनुसार एउटा बोट किबी लगाउन कम्तीमा रु पाँच हजार खर्च गर्नुपर्छ । तीन वर्ष लागेपछि फल दिन सुरु गर्ने किबीको प्रतिबोट वार्षिक ७० किलोसम्म उत्पादन हुने शाक्य बताउनुुहुन्छ । उहाँका अनुसार कम्तीमा १० वर्षसम्म फल दिने किबीको अहिले बजार मूल्य किसानबाटै प्रतिकिलो रु तीन सयदेखि पाँच सयसम्म बिक्री हुने गरेको छ । केही वर्षअघि अलैँचीको पकेट क्षेत्र कहलिएको अत्तरपुर किबीखेतीमा बदलिएको छ ।

    गाउँपालिकाकै अलैँची पकेट क्षेत्र बनाउने योजना रहे पनि अलैँचीमा रोग लागेर नष्ट भएको सन्दर्भमा पालिकाले कुनै ठोस निर्णय नगरेको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend