logo

२०८३ कार्तिक १० सोमबार

थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या

थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या


खबर सर्कल
  • बुधबार, १८ भाद्र २०८२
  • 1.6K
    SHARES

    कञ्चनपुर, १८ भदौः शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा बिहान घण्टी बज्नेबित्तिकै विद्यार्थी सरस्वती बन्दना वा पिटी कवाज गर्न नपाइ सीधा कक्षा कोठामा प्रवेश गर्छन् । शिक्षकले पनि कक्षाभित्रै हाजिरी गरी पठनपाठन सुरु गर्ने गरेका छन् ।

    विद्यालय परिसर वर्षा लागेसँगै जलमग्न र हिलाम्मे हुने भएकाले विद्यार्थीलाई बाहिर लामबद्ध गर्ने गतिविधि गर्न नसकिने अवस्था छ । करिब चार महिनासम्म विद्यालय परिसर डुबानमा पर्ने गरेको छ । पानी निकासको व्यवस्था नहुँदा समस्या झन चर्किएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी नवीन धानुक बताउनुहुन्छ ।

    “जलमग्न र हिलाम्मे परिसर टेक्दै शिक्षक–विद्यार्थी कक्षामा पस्ने गरेका छन्, समस्या वर्षौंदेखि देखिएको हो, तर समाधान अझै हुन सकेको छैन”, उहाँले भन्नुभयो । पूर्व–पश्चिम राजमार्गदेखि करिब ७०० मिटर दक्षिणतर्फ अवस्थित विद्यालयमा २०० बढी विद्यार्थी अध्ययनरत छन् ।

    करिब ९० प्रतिशतभन्दा बढी विद्यार्थी दलित र आदिवासी जनजाति समुदायका रहेका छन् । विद्यालयका प्रधानाध्यापक गोपिन्दसिंह नायकका अनुसार विद्यालयका दुई भवन ‘बिल्ड अन’ र भारतीय दूतावासको सहयोगमा बनेका हुन् । ती मात्रै प्रयोगयोग्य छन् ।

    बाँकी भवन जीर्ण भएकाले जोखिम मोलेर प्रयोग गर्नुपरेको छ । “विद्यार्थीको चापअनुसार दुई भवन पर्याप्त छैनन्, बाध्य भएर पुरानै जीर्ण भवनमा पढाउँदै आएका छौँ”, उहाँले भन्नुभयो । विद्यालयमा १७ शिक्षक र करिब २०० विद्यार्थी भए पनि प्रयोगयोग्य शौचालय भने एक मात्र छ ।

    त्यो पनि वर्षौं पुरानो भएकाले टालटुल गरेर चलाइँदै आएको प्रधानाध्यापक नायकको भनाइ छ । “विद्यार्थीहरू लाइनमा उभिएर शौचालय प्रयोग गर्न पालो कुर्न बाध्य छन्, शिक्षकहरूले पनि त्यही प्रयोग गर्नुपरेको छ, जसले गर्दा पठनपाठमा अबरोध हुने गरेको छ”, प्रधानाध्यापक नायकले भन्नुभयो ।

    विद्यालय हाताभित्रै रहेको कालिका मन्दिरमा हुने पूजापाठ र बलि चढाउने कार्यले पनि शिक्षण प्रभावित हुने गरेको छ । छुट्टै प्रवेशद्वार नभएकाले विद्यालय समयमै मन्दिरमा हुने भीडले समस्या थपिएको शिक्षकहरूको भनाइ छ ।

    खेलमैदान भए पनि वर्षा लागेपछि चार महिनासम्म हिलाम्मे भएर प्रयोगविहीन हुन्छ । निजी स्रोतबाट नियुक्त शिक्षको तलबको व्यवस्था विद्यालयले आफैँ गर्नुपर्ने बाध्यता रहेको छ । आर्थिक अभावका कारण तलब दिन कठिनाइ भएको प्रधानाध्यापक नायकले बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कमल ठकुल्लाका अनुसार शौचालय व्यवस्थापन खानेपानी र खेलमैदान सुधारका लागि पहल गरिने छ । “वडाको सानो बजेटले पर्याप्त काम गर्न सकिँदैन, ठूलो बजेट चाहिन्छ, त्यसका लागि नगरदेखि प्रदेशसम्मलाई गुहारी सकेका छौँ, तर सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।

    विद्यालयमा नियमित पठनपाठन मात्र नभई निर्वाचनका बेला उम्मेदवारी दर्ता गर्ने तथा मतदानस्थलका रूपमा पनि प्रयोग हुँदै आएको छ । यस्तै यस विद्यालयलाई एसइई परीक्षा केन्द्रको रूपमा समेत प्रयोग गर्ने गरिएको छ । पूर्वाधार विकासमा भने निरन्तर बेवास्ता हुँदै आएको अभिभावकहरुको गुनासो छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend