logo

२०८३ कार्तिक १० सोमबार

वडाको सुविधा काठमाडौँबाट पाएपछि वृद्धवृद्धा खुसी

वडाको सुविधा काठमाडौँबाट पाएपछि वृद्धवृद्धा खुसी


खबर सर्कल
  • बिहिबार, १९ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १९ भदौः चारवर्ष पहिले नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानीबाट काठमाडौँमा आएर बस्नुभएका ८६ वर्षीय खोपप्रसाद पाण्डे काठमाडौँबाटै वृद्धभत्ताको कार्ड नविकरण गर्न पाएपछि खुसी हुनुहुन्छ ।

    सरकारले सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाका लागि अनलाइन प्रक्रियाबाट वायोमेट्रिक प्रणाली अनिवार्य गरेसँगै वृद्धभत्ताका लागि वडा कार्यलयमा अनिवार्य जानुपर्ने बाध्यताबीच वडाले काठमाडौँमा आएर वृद्धभत्ताको नविकरण गरिदिएपछि उहाँ खुशी हुनुहुन्छ ।

    “गाउँमा जान समस्या हुन्थ्यो, वडा कार्यालयले हामीलाई खोजेर यहीँ आएर सेवा दिएकोमा सारै खुशी लागेको छ”, उहाँ भन्नुहुन्छ । यस्तै, सुनखानीकै १०४ वर्षीय देवकुमारी पाण्डेले पनि काठमाडौँबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्नुभयो ।

    उमेरले सबैभन्दा बढी उहाँ काठमाडौँबाटै सेवा लिन पाएकोमा खुशी देखिनुहुन्थ्यो । नुवाकोटको शिवपुरी गाउँपालिका–६ की सावित्री थापा काठमाडौँको साङ्लामा बस्नुहुन्छ । उहाँ काठमाडौँबाट आफ्नो सेवा पाएकोमा खुशी हुनुहुन्छ ।

    नुवाकोटको शिवपुरी गाउँपालिकाका–६ र ७ ले आज काठमाडौँको टोखाबाट आफ्ना वडावासीले सेवा प्रदान गरेको छ । वडा नं ६ ले टोखाको ग्रीनल्याण्ड र वडा नं ७ ले बानियाटारस्थित विआर इलेक्ट्रिोनिक्सबाट आफ्ना नागरिकलाई सेवा प्रदान गरेका हुन् ।

    वडा नं ६ का वडाअध्यक्ष विष्णु श्रेष्ठ काठमाडौँ बसेका आफ्ना ज्येष्ठ नागरिकको सहजताका लागि काठमाडौँमै आएर वडाको सेवा प्रदान गरिएको बताउनुहुन्छ ।

    “वडाभित्रका १० ठाउँमा घुम्ती सेवा सञ्चालन गरेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरेका थियौँ, आज काठमाडौँमा बसेका आफ्ना वडाबासीलाई उक्त सेवा प्रदान गर्न यहाँ आएका छौँ,” वडाध्यक्ष श्रेष्ठ भन्नुहुन्छ ।

    वडा नं ७ का वडाध्यक्ष वीरबहादुर तामाङ हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडाको सेवा काठमाडौँमा आएर प्रदान गरिएको बताउनुहुन्छ ।

    ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको नविकरणका अलावा दुबै वडा आज एक दिन विवाह दर्ता, नागरिकता प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको सेवा काठमाडौँबाटै प्रदान गरेका छन् । वडा नं ६ बाट ७५ र वडा नं ७ बाट ६० ज्येष्ठ नागरिकले सेवा लिने विश्वास ती वडाले गरेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend