logo

२०८३ कार्तिक १० सोमबार

गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने


खबर सर्कल
  • शुक्रबार, २० भाद्र २०८२
  • 1.2K
    SHARES

    गुल्मी, २० भदौः नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ ।

    रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिनुभयो ।

    निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो । प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन ।

    खराब मौसम र बाक्लो हुस्सुका कारण जिल्लामा पटकपटक उडान प्रभावित हुने गरेको छ । निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि यहाँ बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँ बिहान ७ः३० बजे उडानको तालिका निर्धारण गरेको छ ।

    यस्तै, काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ । निगमले विसं २०८० वैशाख २९ गतेदेखि यहाँ व्यावसायिक रूपमा उडान सुरु गरेको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend