logo

२०८३ कार्तिक १० सोमबार

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु


खबर सर्कल
  • शुक्रबार, २७ भाद्र २०८२
  • 1.5K
    SHARES

    भोजपुर, २७ भदौः यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ ।

    व्यापारीहरुले आलु खरिद गर्न गाडी नै लिएर किसानका घरसम्म पुग्ने गरेका छन् । गाउँघरमा सडकको पहुँच विस्तारसँगै अर्ग्यानिक आलु किसानको भरपर्दो आम्दानीको स्रोत बनेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय कृषक शिवकुमार विष्टले बताउनुभयो ।

    “विगतमा यहाँ उत्पादन हुने अर्ग्यानिक आलु अन्य सहरमा पठाउन समस्या थियो, आलुसँग धान साट्नुपर्ने अवस्था थियो, तर अहिले सडकको पहुँचसँगै घरबाटै आलु बिक्री हुन थालेको छ ।”

    यस वर्ष गाउँघरबाट प्रतिकेजी रु ४० देखि ४५ सम्म बिक्री हुँदै आएको किसानहरुको भनाइ छ । लेकाली भेगमा उत्पादन भएको अर्ग्यानिक आलुको बजारमा राम्रो माग रहेको स्थानीय कृषक रामबहादुर विष्टले बताउनुभयो ।

    “मझौले र चोलन्ती गाउँमा अर्ग्यानिक आलु उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “गाउँका सबैले आलुखेती गरिरहेका छौँ । उत्पादन भएको आलु घरबाट बिक्री हुन्छ । हाम्रो क्षेत्रको आलु अर्गानिक रहेकाले बजारमा राम्रो माग छ ।”

    मझौले गाउँका एक किसानले ७०० केजीदेखि सात हजार केजीसम्म आलु उत्पादन गर्दै आएका छन् । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुखेती गर्दै आएको उहाँको भनाइ छ ।

    यो क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पङ्खदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार भोजपुर जिल्लामा हिउँदे र बर्खे गरी गत वर्ष ५१ हजार ९०० मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँ तीन हजार २७२ हेक्टर क्षेत्रमा आलुखेती हुने गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend