logo

२०८३ कार्तिक १० सोमबार

राजपुर–सलेना सडक स्तरोन्नति तीव्र

राजपुर–सलेना सडक स्तरोन्नति तीव्र


खबर सर्कल
  • शुक्रबार, २७ भाद्र २०८२
  • 1.5K
    SHARES

    गोदावरी (कैलाली), २७ भदौः धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत पर्ने राजपुर–सलेना सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ ।

    धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना कार्यालयका इन्जिनियर दिनेशसिंह रैखोलाले उक्त सडक खण्डको काम ५० प्रतिशत सम्पन्न भएको बताउनुभयो ।

    विसं २०८१ साउन २२ गते ३ वर्षमा १४ किलोमिटर सडक कालोपत्र गरिसक्ने गरी सिएस, दुनिला, स्वार जेभीसँग रु ३८ करोडमा ठेक्कासम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

    सो सडकखण्डअन्तर्गत पर्ने राजपुर–सलेनासम्मको १४ मिलोमिटर सडकमा बेस हाल्ने काम सम्पन्न भएर कालोपत्र गर्न मात्र बाँकी रहेको इन्जिनियर रैखोलाको भनाइ छ । सो सडक निर्माणको समयावधि २०८४ साउन २१ गतेसम्म बाँकी नै भए पनि निर्माण कम्पनीले तीव्र गतिमा निर्माणको काम गरिरहेको हुँदा चालु आर्थिक वर्षमा सम्पन्न हुन सक्ने उहाँले बताउनुभयो ।

    यसैगरी सो सडकखण्डको कैलालीमा पर्ने स्याउले–हाटखोलीसम्मको सात किलोमिटर सडकको बेसलाइनको काम सम्पन्न भएर कालोपत्र गर्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार सो सडक निर्माण सम्पन्न गर्न गत असार १४ गते दुई वर्षको म्याद सकिएपछि आगामी चैत २४ गतेसम्मका लागि म्याद थपिएको छ । रु २९ करोड ७१ लाख लागतमा सडक निर्माण गर्न २०७९ असार १६ गते कालिका वेदांशी जेभीसँग सम्झौता भएको थियो ।

    सो सडक खण्डअन्तर्गत राजपुर–सलेना १४ र कैलालीको स्याउले–हाटखोली सात किलोमिटर गरी २१ किलोमिटर सडक कालोपत्र गर्ने काम चालु आर्थिक वर्षमै सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ ।

    धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आर्थिक वर्ष २०७२÷७३ मा निर्माण सुरु भएको निर्माण सुरु भएको थियो ।

    १८६ किलोमिटर लम्बाइको सो उक्त सडकको गत असार मसान्तसम्म ४१ किलोमिटर मात्रै कालोपत्र भएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो सडक निर्माणको कुल लागत अनुमान रु सात अर्ब ५४ करोड ६३ लाख ८१ हजार रहेकामा हालसम्म रु एक अर्ब ३९ करोड ७१ लाख ७८ हजार खर्च भएको छ ।

    उक्त द्रुतमार्ग निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा रु १५ करोड विनियोजन गरेको छ ।

    सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुन नसकेकाले धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक निर्माणको प्रगति सुस्त छ ।

    आयोजना सुरु भएको १० वर्षमा ‘ट्र्याक’ खोल्ने काम सकिनाका साथै ४१ किलोमिटर सडक कालोपत्र र एउटा पुल निर्माण गरिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend