logo

२०८३ कार्तिक १० सोमबार

सामान्य सेवा मात्रै दिन सक्ने अवस्थामा अर्थ प्रशासन, कहाँ कस्तो क्षति ?

सामान्य सेवा मात्रै दिन सक्ने अवस्थामा अर्थ प्रशासन, कहाँ कस्तो क्षति ?


खबर सर्कल
  • शनिबार, २८ भाद्र २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, २८ भदौः जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ । अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरु, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिका बाहेक सेवा दिन नसक्ने अवस्थामा अर्थ प्रशासन पुगेको हो । अहिले यी निकायहरुले क्षतिको विवरण सङ्कलन गर्ने र क्रमशः सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ भने अरु संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय रहेको छ ।

    मन्त्रालयअन्तर्गतका मुख्य तीनवटा सफ्टवेयरहरु र त्यसको तथ्याङ्क सुरक्षित रहेको जानकारी पनि उहाँले राससलाई दिनुभयो । “बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ ।

    मन्त्रालयगत बजेट बजेट सूचना प्रणाली (एलएमबिआईएस), भन्सारअन्तर्गतको आसिकुडा र करतर्फको एकीकृत कर प्रणाली (आईटिएस) सुरक्षित छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगजनीबाट मन्त्रालयका २५ वटा कार पूर्णरुपमा जलेर नष्ट भएका छन् भने २० हाराहारी कारमा आंशिक क्षति पुगेको छ । त्यस्तै ४० वटा मोटरसाइकल जलेर नष्ट भएको प्रवक्ता पाण्डेयले राससलाई जानकारी दिनुभयो ।

    अहिले देशभरका भन्सार र कर कार्यालयहरुको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । भन्सारको सेवा सञ्चालनमा आइसकेको छ भने आन्तरिक राजस्व कार्यालयको अनलाइन सेवा मात्रै सञ्चालनमा छ ।

    आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार काठमाडौँ उपत्यका बाहिरका चार–पाँच वटाबाहेक सबै कर कार्यालयमा क्षति पुगेको छ ।

    “सरकारले काम सुरु गर्नु भन्यो भने काठमाडौँ उपत्यकाभित्रका कार्यालयहरुबाट तत्काल सेवा दिन सक्ने अवस्थामा छन् । तर, काठमाडौँ बाहिरका धेरै वटा कार्यालय तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन्”, महानिर्देशक दाहालले भन्नुभयो ।

    उहाँका अनुसार दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौँडा, वीरगञ्ज, सिमरा, दमौली, पोखरा, भैरहवा, बुटवल, नेपालगञ्ज, डडेलधुरा, धनगडी कर कार्यालय पूर्णरुपमा नष्ट भएका छन् । यी कार्यालयबाट तत्काल सेवा दिन सक्ने अवस्था नरहेको दाहालको भनाइ छ ।

    जतिसक्दो चाँडो सेवा पुनःसञ्चालनका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो । “कर कार्यालयहरुमा पुगेको क्षतिको विवरण सङ्कलनका लागि अहिले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मुचुल्का बनाउने काम भइरहेको छ ।

    त्रिपाल टाँगेर भए पनि सेवा दिन सकिन्छ कि भनेर वैकल्पिक व्यवस्थामार्फत सेवा दिनका लागि पनि तयारी गर्न भनिएको छ”, उहाँले भन्नुभयो, “अहिले कर कार्यालयको अनलाइन सेवामा समस्या छैन । धेरै काम अनलाइनबाटै हुने गरेको छ । तर अधिकांश कार्यालयबाट भौतिक रुपमा सेवा दिन सक्ने अवस्था छैन ।”

    जेनजी समूहबाटै आन्तरिक राजस्व विभागको वेभसाइटमा साइबर आक्रमणसमेत भएको थियो । केही समय ह्याकरको कब्जामा पुगेकोमा त्यसलाई फिर्ता ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

    भद्रपुर, धरान, कावासोती, जुम्ला, कृष्णनगर, सुर्खेत, महेन्द्रनगर कर कार्यालयमा क्षति नरहेकाले तत्काल सेवा दिन सकिने अवस्थामा छन् । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार भन्सार सेवा सञ्चालनमा आइसकेको छ । दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक खाद्यान्न, फलफूल, ग्यास, तेललगायतका वस्तुको जाँचपासलाई प्राथमिकतामा दिइएको उहाँले बताउनुभयो ।

    “भद्रपुर, काकरभिट्टा, विराटनगर, भैरहवा, कैलाली र जनकपुर भन्सार कार्यालयमा धेरै क्षति पुगेको छ । क्षतिको वास्तविक विवरण आइसकेको छैन । अहिले जिल्ला प्रशासन र प्रहरीसँगको समन्वयमा मुचुल्का तयार पार्ने काम भइरहेको छ”, बर्तौलाले भन्नुभयो ।

    भौतिक संरचनामा क्षति भए पनि भन्सार जाँचपासका लागि प्रयोग हुने आसिकुडा प्रणालीमा क्षति नपुगेको सीमित स्रोतसाधनबाटै वस्तु जाँचपास सुरु गरिएको उहाँको भनाइ छ । चीनतर्फतको कोरला नाका भोलि आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि अहिले अधिकांश सरकारी खाता प्रणाली बन्द गरिएका छन् । महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालले अहिले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मात्रै सञ्चालनमा ल्याउन सकिएको बताउनुभयो ।

    “कैलाली कोलेनिकामा पूर्णरुपमा क्षति पुगेको छ । मकवानपुर, विराटनगर, त्रिपुरेश्वरलगायतका कार्यालयमा क्षति पुगेको छ । क्षतिका विवरणहरु सङ्कलन भइरहेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र), एकल खाता कोष प्रणाली (टिएसए), कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) लगायतका सरकारी खाता सञ्चालनमा आउन सकेका छ्र्रैनन् ।

    नयाँ सरकारबाट के निर्देशन आउँछ, त्यहीअनुसार अघि बढ्छौँ ।”

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend