logo

२०८३ कार्तिक १० सोमबार

हेटौँडा उपमहानगरपालिकाद्वारा नियमित सेवा प्रवाहको तयारी गरिँदै

हेटौँडा उपमहानगरपालिकाद्वारा नियमित सेवा प्रवाहको तयारी गरिँदै


खबर सर्कल
  • बुधबार, १ असोज २०८२
  • 1.4K
    SHARES

    बागमती, १ असोजः जेनजी प्रदर्शनका क्रममा आगजनी भएको हेटौँडा उपमहानगरपालिकाको भवन परिसरलाई सफा गर्न जनप्रतिनिधि र कर्मचारीहरु जुटेका छन् । आगजनीबाट जलेको कोठाहरुलाई सफा गरेर सेवाप्रवाहलाई नियमित सञ्चालन गर्ने तयारी गरिएको हो ।

    उपमहानगरपालिकाको राजस्व सङ्कलन, नक्सा पास, सिफारिस, दर्तालगायतका नियमित सेवाप्रवाहलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सुरु गरिएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज सुबेदीले जानकारी दिनुभयो ।

    “आगजनीबाट कोठा, फर्निचर र अन्य जिन्सीलगायतका सामान जलेर खरानी भइसकेको छ, ती खरानीहरुलाई सफा गरेर कार्यालय व्यवस्थापनमा हामी जुटेका छौँ”, उहाँले भन्नुभयो, “कोठाकोठाको धुलो र खरानी सफा गरिसकेका छौँ, अब नयाँ फर्निचरलगायतका सामान राखेर कार्यालयको नियमति काम सुरु गर्ने तयारीमा जुटेका छौँ ।”

    सम्भवतः असोज ४ गतेदेखि कार्यालयबाट राजस्व सङ्कलन, नक्सा पास, सिफारिसलगायतका काम नियमित रुपमा सुचारु गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीहरुले उपमहानगरपालिकामा तोडफोड तथा आगजनी गरेका थिए । सो आगजनीबाट कार्यालय भवन क्षतिग्रस्त भएको छ । यस्तै उपमहानगरपालिकाको सवारीसाधनसमेत क्षति भएको थियो ।

    क्षतिको विवरण सङ्कलनको काम भइरहेको उपमहानगरपालिकाको वित्त व्यवस्थापन महाशाखा प्रमुख डा भीमप्रसाद तिमल्सिनाले बताउनुभयो । “आगजनीबाट उपमहानगरपालिकाको मूल कार्यालयसँगै छ वटा वडा कार्यालय क्षतिग्रस्त भएको छ, थुप्रै सवारीसाधन जलेर नष्ट भएको”, उहाँले भन्नुभयो, “क्षतिको विवरण विभिन्न शाखाहरुबाट सङ्कलन भइरहेको र प्राविधिकबाट प्नि क्षतिको मूल्याङ्कन भइरहेको छ ।”

    सम्भवतः भोलि वा पर्सिसम्ममा क्षतिको यकिन विवरण तयार हुन्छ, त्यसपछि मात्र के कति क्षति भएको थाहा हुने उहाँको भनाइ छ । यसैबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले आगजनीबाट ध्वस्त भएको संरचनाहरुको अनुगमन गर्नुभएको छ ।

    क्षतिग्रस्त कार्यालयको अनुगमनपश्चात् उहाँले आगजनीबाट ध्वस्त कार्यालयलाई व्यवस्थित बनाएर तत्काल सेवाप्रवाहलाई व्यवस्थित र जनउत्तरदायी बनाउन निर्देशन दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend