logo

२०८३ कार्तिक १० सोमबार

मैवाखोलामा पहिरोले ११ घर विस्थापित

मैवाखोलामा पहिरोले ११ घर विस्थापित


खबर सर्कल
  • बुधबार, १ असोज २०८२
  • 1.4K
    SHARES

    ताप्लेजुङ, १ असोजः अविरल वर्षाका कारण यहाँको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन्भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षण अनुसार वडा नम्बर २, ४, ५ र ६ सबैभन्दा बढी प्रभावित भएका छन् ।

    वडा नम्बर २ मा २ घर विस्थापित भएका छन्भने वडा नम्बर ४ मा ५ घर उच्च जोखिममा परेका छन् । यस्तै वडा नम्बर ५ मा १ घर विस्थापित हुनुका साथै सात घर उच्च जोखिममा रहेका छन् । त्यस्तै, वडा नम्बर ६ मा ८ घर विस्थापित भएका छन्भने केही दिनअघि एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तनि जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।

    यस्तै भौतिक संरचनातर्फ पनि क्षति पुगेको छ । वडा नम्बर ४ को एकबासे सडक पूर्ण रूपमा बगाएको छ भने वडा नम्बर ४ र ५ जोड्ने याङ्देली झोलुङ्गे पुल जाने बाटोको भाग पहिरोले बगाएको छ ।

    वडा नम्बर ५ को महादेवथान–कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको छ भने वडा नम्बर ५ र ६ जोड्ने चिम्फाक–रानीवन सडक, रानीवन–साङलुप्पा सडक, रानीवन–साम्तोङ सडक, ओर्खुम–जैवा सडक र फाकुम्बा–यदे सडक बाढी र पहिरोले बगाएर पूर्ण रूपमा अवरुद्ध भएका छन् । साथै, तिर्तिरे–खार्ते सडकखण्डको अयाक्मा जङगल क्षेत्रमा निर्माण गरिएको ग्याबिन र सोलिङ समेत बगाएको छ ।

    दसैँ, तिहारजस्ता प्रमुख पर्व नजिकिँदै गर्दा बाढी, पहिरोले ल्याएको विपत्तिका कारण जनजीवन कष्टकर बनेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताउनुभएको छ । प्रभावित परिवारहरू विस्थापित भएर असुरक्षित अवस्थामा दिन काट्न बाध्य भएका छन् ।

    अझै वर्षा रोकिने सम्भावना नदेखिएकाले थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । यसबीच गाउँपालिका अध्यक्ष वनेमले सतर्क रहन सबैलाई आग्रह गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend