logo

२०८३ कार्तिक १० सोमबार

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’


खबर सर्कल
  • शनिबार, ४ असोज २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, ४ असोजः समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरुमाथि गरिएको अध्ययनले ९० प्रतिशत मिर्गौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो । उक्त अध्ययन सोही अस्पतालले गरेको थियो ।

    अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्राडा रबिनबहादुर बस्नेतले ५०० जनामा ४७० जनाको मिर्गौला समयमा नै उपचार गरेको भएमा बचाउन सकिने अध्ययनमा देखिएको जानकारी दिनुभयो । तीमध्ये ३० जनाको मात्र मिर्गौला जोगाउन नसकिने अवस्थाको रहेको उहाँले बताउनुभयो ।

    ती जोगाउन सकिने मिर्गौला जनचेतनाको कमीले नियमित जाँच नगर्दा जोगाउन नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार धेरैजसो मिर्गौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ५०० जनामा गरिएको अध्ययनमा ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मिर्गौला बिग्रिएको देखिएको छ ।

    त्यसैगरी १५ प्रतिशत जन्मजात मिर्गौलाका बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ । पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मिर्गौला फुल्लिँदा मिर्गौला बिग्रने गर्दछ ।

    यसरी एउटा मिर्गौला फुल्लिए पनि अर्को मिर्गौलाले काम गर्ने हुँदा बिरामीले मिर्गाैला फुल्लिएको थाहा पाउँदैनन, जसले गर्दा अर्को मिर्गौला बिग्रने चिकित्सकहरुको भनाइ छ ।

    जन्मजात मिर्गौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको २० देखि ३० वर्षको बीचमा मिर्गौला बिग्रने प्राडा बस्नेतले बताउनुभयो । संसारमा एकदेखि चार प्रतिशत मानिसको एउटा मात्र मिर्गौला हुने गर्दछ ।

    पानी कम खानाले, मधुमेहका बिरामी, मद्यपानका कारण मिर्गौला बिग्रने गर्दछ । ‘पेनकिलर’ औषधि (आइबुप्रोफेन, निमेसुलाइड) आफूखुसी खाँदा पनि मिर्गाैला बिग्रने गर्दछ ।

    वीर अस्पतालमा मिर्गाैला बिग्रेका ५०० जनामध्ये २२० जना पहिलोपटक अस्पताल आएको प्रमुख कन्सल्ट्यान्ट प्राडा बस्नेतले जानकारी दिनुभयो । अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको बढी मिर्गौला बिग्रने समस्या देखिएको छ ।

    उहाँका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने गरेको छ । उहाँले मिर्गाैला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । पानी दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मिर्गौलाको जाँच गर्ने गर्नुपर्दछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend