logo

२०८३ कार्तिक १० सोमबार

कृष्णपुर नगरपालिकाद्वारा आंशिक सेवा

कृष्णपुर नगरपालिकाद्वारा आंशिक सेवा


खबर सर्कल
  • आइतबार, ५ असोज २०८२
  • 1.4K
    SHARES

    कञ्चनपुर, ५ असोज : जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण क्षति व्यहोरेको कृष्णपुर नगरपालिकाको कार्यालय अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । कार्यालय भवनमा क्षति पुगेपछि अहिले केही शाखामात्र अस्थायी रूपमा सञ्चालनमा आएका छन् ।

    नगरप्रमुख हेमराज ओझाका अनुसार आगलागी हुनबाट जोगिएका कागजातका आधारमा काम अगाडि बढाइएको छ ।

    स्थानीय युवा क्लब र कार्यालयका कर्मचारीको सहयोगमा सरसफाइ गरी सुरक्षित रहेका कोठा, खाजाघर र हल प्रयोगमा ल्याइएको छ ।

    उहाँले भन्नुभयो, “भवनमा ठाउँ अपुग भएपछि वनदेवी आधारभूत विद्यालयका खाली कोठामा केही शाखा सार्ने तयारी भइरहेको छ ।”

    कार्यालयका सबै शाखा सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने जनाउँदै उहाँले आवश्यक उपकरण र सामग्री अभाव ठूलो चुनौती भएको जानकारी दिनुभयो । स्टेशनरीदेखि लिएर कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, मोटरसाइकल, स्कुटर, दराज, नक्सा, स्वास्थ्य सामग्री, फ्रिज, एसी, फर्निचरसहित अधिकांश कागजपत्रलगायत सामग्री जलेर नष्ट भएका छन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टका अनुसार क्षतिको प्रारम्भिक विवरणअनुसार आगलागीले रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ । भवनको भौतिक क्षतिबारे प्राविधिक विवरण तयार गर्ने कार्य भइरहेको उहाँको भनाइ छ ।

    वडा कार्यालयमा भएको क्षतिको विवरण सङ्कलनकै क्रममा रहेको छ । यद्यपि, सामुदायिक वन, सहकारी संस्था र वित्तीय संस्थाले सहयोगस्वरूप प्रिन्टर, कम्प्युटर र प्लास्टिकका कुर्सी नगरपालिकालाई सहयोग गरेका छन् । नगरपालिकाले नगद सहयोग नलिने निर्णय गर्दै जिन्सी सामग्रीमात्र स्वीकार गर्ने नीति बनाएको छ ।

    नगरप्रमुख ओझाले भन्नुभयो, “सहयोगी संस्थाबाट प्राप्त थोरै सामग्रीकै आधारमा कार्यालय सञ्चालन गर्न थालेका छौँ, केही दिनमै सबै शाखा सञ्चालनमा ल्याउने तयारी छ ।” आगलागी र तोडफोडमा संलग्नलाई कारबाही गर्नेबारे सर्वदलीय, सर्वपक्षीय तथा कार्यपालिकाको छुट्टाछुट्टै रूपमा बसेको बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।

    हालसम्म लुटपाट गरिएको सामग्रीमध्ये एक थान कम्प्युटर मोनिटर र एक थान क्यामेरामात्र फिर्ता भएको नगरपालिकाले जनाएको छ । यसैबीच, वडा कार्यालयमार्फत भने सेवाग्राहीलाई सेवा दिने कार्य सुरु गरिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend